वीरगञ्ज । पर्साको वीरगञ्जस्थित विभिन्न क्यासिनोहरूमा अनधिकृत प्रवेश गरी शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले शनिबार राति सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ५ जना भारतीय नागरिक र १ जना नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार भारतको विहार राज्य निवासी गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव र ओमप्रकाश यादव पक्राउ परेका छन्। त्यस्तै, वीरगञ्ज महानगरपालिका–३२ का जमुदिन मियाँ अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्जका किंग्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब र क्यासिनो माजोङमा छापा मारेको थियो। विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई जुवातास खेलिरहेको र शंकास्पद गतिविधिमा संलग्न रहेको अवस्थामा फेला पारेको हो।
पक्राउ परेकाहरूको साथबाट केही नगद र दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।