काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक विभिन्न संकटबाट गुज्रिरहेका बेला सरकारको प्राथमिकता भने प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्नेतर्फ केन्द्रित भएको भन्दै आलोचना गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी रहँदा उनलाई पदबाट हटाउनुपर्ने सरकारको कारणबारे प्रश्न उठाएका हुन्। भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको पीडा, विस्थापित सुकुम्बासीको समस्या र बढ्दो महँगीले सर्वसाधारणको जनजीवन कष्टकर बनिरहेको अवस्थामा सरकारको प्राथमिकता गलत दिशातर्फ गएको उनको टिप्पणी छ। यस्तो अवस्थामा मुलुकको तत्कालीन आवश्यकता नै आईजीपी परिवर्तन हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाएका छन्। आङदेम्बेले प्रहरी प्रमुखलाई हटाउन खोज्नुको आधार र कारणबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्। साथै, आईजीपी परिवर्तनका विषयमा सत्तारूढ दलका नेताहरूबाटै फरक–फरक धारणा सार्वजनिक भएको भन्दै उनले सरकार कसको निर्देशनमा सञ्चालन भइरहेको छ भन्ने प्रश्न गरेका छन्।
उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको आशंकासमेत व्यक्त गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई उनले गम्भीर रूपमा उठाएका हुन्। अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेका कुन विवरण हटाउनुपर्ने अवस्था आयो भन्नेबारे उनले प्रश्न गरेका छन्। जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज जनजीवनको अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको स्मरण गराउँदै आङदेम्बेले राज्यशक्तिको दुरुपयोग गरी प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।