पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण केसीले रक्तदानलाई केवल रगत दिने कार्यका रूपमा नभई कसैको जीवन बचाउने महान् मानवीय सेवाका रूपमा लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसद्वारा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता केसीले रक्तदानले मानिसको जीवनमा नयाँ आशा र खुसी ल्याउन सक्ने उल्लेख गरे। उनले यस्ता सामाजिक तथा मानवीय कार्यमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कांग्रेस जनताको सुख–दुःखमा साथ दिने र उनीहरूका समस्या तथा पीडा बुझेर जनताको हितमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै केसीले जनताको सेवामा भाषणमा मात्र नभई व्यवहारमै समर्पित हुनुपर्ने धारणा राखे।
उनले रक्तदान, स्वास्थ्य शिविर तथा सामाजिक सहयोगका कार्यक्रमले समाजमा आपसी सद्भाव, सहयोग र मानवताको भावना बलियो बनाउने बताए।