काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पीडितहरूलाई डर, त्रास र प्रलोभनमा पारेर रकम असुल गर्ने गिरोहलाई साइबर ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी–३ का ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई र इनरुवा–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको अधिकारी बनेर उनीहरूले विभिन्न व्यक्तिहरूलाई फोन गर्ने गरेका थिए। ब्यूरोको नाममा फोन गरी पीडितहरूलाई विभिन्न बहानामा त्रसित बनाउने र समस्या समाधान गरिदिने प्रलोभन देखाउँदै विद्युतीय माध्यमबाट रकम पठाउन लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडितहरूको उजुरीका आधारमा ब्यूरोबाट खटिएको विशेष टोलीले सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनामाथि विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।