काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा आगामी मंसिरमा हुने भनिएको भ्रमणका लागि आवश्यक तयारी अघि बढिरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत जाने प्रस्ताव गरिएको छ। यद्यपि, भ्रमणको मिति भने औपचारिक रूपमा निश्चित भइसकेको छैन। प्रवक्ता अर्यालका अनुसार भ्रमणका क्रममा उठाइने विषय र एजेन्डा तय गर्न परराष्ट्र मन्त्रालयसहित सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीपछि उद्धार तथा राहतमा भारतले तत्काल सहयोग पुर्याएकोमा आभार व्यक्त गरेको पनि अर्यालले जानकारी दिए। भारतले उक्त विपद्का बेला पहिलो उद्धार तथा सहयोगकर्ता (फर्स्ट रेस्पोन्डर) का रूपमा खेलेको भूमिकाको प्रधानमन्त्रीले प्रशंसा गरेको उनको भनाइ छ।