काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी घर भई काठमाडौँ–१३ बस्ने २९ वर्षीय संजय कुमार, काठमाडौँ–१६ बस्ने ५२ वर्षीय नगेन्द्र शाह, बाँके खजुराका २४ वर्षीय मो. अलताव खाँ र सल्यान कुमाखका १९ वर्षीय केशव सुनार रहेका छन्। प्रहरीका अनुसार संजय र नगेन्द्रले बेलायत पठाइदिन्छु भन्दै एक पीडितबाट २२ लाख रुपैयाँ ठगी गरेका थिए भने मो. अलतावले बुल्गेरिया पठाउने भन्दै ५१ लाख र केशवले क्यानडा पठाउने भन्दै १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ। वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीबाट बच्न र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ।