काठमाडौं । महिला हिंसासम्बन्धी आरोपमा आन्तरिक अनुसन्धानको दायरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले पार्टीको छानबिन समितिसमक्ष आफ्नो भनिएको अडियोबारे अनभिज्ञता जनाएका छन्।
रास्वपाको अनुशासन आयोगले गठन गरेको अनुसन्धान समितिसमक्ष उनले लिखित र मौखिक दुवै बयान दिइसकेका छन्। बयानका क्रममा सुनारले सार्वजनिक अडियोमा सुनिएको महिलालाई आफूले नचिन्ने र उक्त अडियो पनि आफ्नो नभएको दाबी गरेको पार्टी स्रोतले जनाएको छ। समितिले अडियोमा सुनिएको महिलालाई चिन्नुहुन्छ कि हुन्न भनेर सोध्दा उनले नचिन्ने जवाफ दिएको स्रोतको भनाइ छ। त्यस्तै, अडियोबारे सोधिएको प्रश्नमा आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए। यसअघि सार्वजनिक भएको भनिएको अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, रकम मागेको र ज्यान मार्ने धम्की दिएको आरोपसहितका विवरण बाहिरिएका थिए। साथै, विवाहको प्रलोभन देखाएर अश्लील तस्बिर तथा भिडियो बनाएर ब्ल्याकमेल गरेको दाबीसमेत सार्वजनिक भएको थियो। उक्त प्रकरणपछि रास्वपाले उनलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।
सुनारले आरोप अस्वीकार गर्दै बयान दिएपछि पार्टीभित्रै थप कारबाही गर्न आवश्यक नरहेको धारणा केही पदाधिकारीले राख्न थालेका छन्। तर, पार्टीको अनुशासन आयोगले भने आरोपको सत्यतथ्य पत्ता लगाउन अडियोको प्रयोगशालाबाट परीक्षण गर्ने तयारी गरेको छ। अनुसन्धान समितिका संयोजक हरिचन्द्र भट्टराईका अनुसार सुनारको बयान र प्राप्त प्रमाणहरूको अध्ययन तथा विश्लेषणपछि मात्रै निष्कर्षमा पुगिनेछ। तिहारपछि समितिको बैठक बसेर अनुसन्धानलाई थप अघि बढाउने तयारी छ। यस प्रकरणमा सार्वजनिक आरोप र सांसद सुनारको खण्डनबीच सत्यतथ्य पत्ता लगाउन अडियो परीक्षण तथा थप अनुसन्धानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।