काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई आवधिक निर्वाचनमा मात्र सीमित गर्न नहुने बताएका छन् ।
लोकतन्त्रको वास्तविक अर्थ समान अधिकार, सबै समुदायको सार्थक प्रतिनिधित्व र राज्यका संस्थाहरूको जवाफदेहिता सुनिश्चित हुनु रहेको उनको भनाइ छ । दक्षिण कोरियाको राजधानी सियोलमा शुक्रबार आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो धारणा राखेका हुन् । ‘परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण’ विषयमा आफ्नो विचार राख्दै उनले वर्तमान विश्व राजनीति भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन र सामाजिक असमानताजस्ता चुनौतीबाट गुज्रिरहेको बताए । शक्तिराष्ट्रहरूबीच बढ्दो ध्रुवीकरणले बहुपक्षीय संस्थाप्रतिको विश्वाससमेत कमजोर बनाउँदै लगेको उनले उल्लेख गरे ।
यादवले कुनै पनि राष्ट्र अन्तर्राष्ट्रिय कानुनभन्दा माथि हुन नहुने र सबै देशले समान सम्मान, सार्वभौमिकता तथा अधिकार पाउनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको प्रसङ्ग उठाउँदै उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून रहे पनि नेपाली नागरिकले हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता गम्भीर विपद्को सामना गर्नुपरेको बताए । जलवायु न्यायका लागि बढी उत्सर्जन गर्ने राष्ट्रले बढी जिम्मेवारी लिनुपर्ने, प्रभावित देशलाई पर्याप्त जलवायु वित्त उपलब्ध गराउनुपर्ने र आवश्यक प्रविधि हस्तान्तरण गर्नुपर्ने उनको धारणा थियो । त्यस्तै, नेपालको परराष्ट्र नीति स्वतन्त्रता, असंलग्नता, अहस्तक्षेप र सहअस्तित्वको सिद्धान्तमा आधारित हुनुपर्ने उनले बताए । कुनै पनि देशलाई शक्तिराष्ट्रमध्ये एउटा पक्ष रोज्न दबाब दिन नहुने उनको भनाइ थियो । सुरक्षा चुनौती, साइबर जोखिम तथा आपूर्ति शृङ्खलामा देखिने अवरोध कुनै एक देशको प्रयासले मात्र समाधान नहुने उल्लेख गर्दै यादवले यस्ता समस्या सामना गर्न एसियाली राष्ट्रहरूबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताए ।