काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएसँगै सोमबार देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा समेत आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। देशका अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
सोमबार राति पनि देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ। तराई, काठमाडौँ उपत्यका तथा पहाडी खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना रहेको छ। त्यस्तै, रातिको समयमा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।