काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले शुक्रबरदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ। तत्कालीन समयको विषम परिस्थितिमा देशमा शान्ति र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वन्त्रताको रक्षा गर्न विसं २०५७ माघ ९ गते सशस्त्र प्रहरी बलको विधिवत रूपमा स्थापना भएको थियो।
तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ ले दिएको सुझावबमोजिम त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजैका दिन सशस्त्र प्रहरी बल गठन भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा शुक्रबार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना गरिएको छ। सुरुआतमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी सशस्त्र प्रहरी बलमा ल्याइएको थियो। स्थापनापश्चात महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालय राखिएको थियो।
यो २५ वर्षे यात्रामा सशस्त्र प्रहरी बल नेपालले राज्यप्रदत्त कार्यादेश प्रभावकारी ढंगले सम्पादन गर्दै संगठनको संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिँदै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।