काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियानसहित ट्राफिक सप्ताह–२०८२ आयोजना गर्ने भएको छ । आगामी पौष २६ गतेदेखि माघ ३ गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम सञ्चालन गरिने छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक सप्ताहको उद्देश्य सवारी दुर्घटना घटाउने, सडक प्रयोगकर्ताको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन गर्नु रहेको जानकारी दिए । उनका अनुसार सडक दुर्घटनाबाट हुने मानवीय, सामाजिक तथा आर्थिक क्षति न्यूनीकरण गर्दै अनुशासित र सुरक्षित यातायात प्रणाली विकासमा टेवा पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो । ट्राफिक सप्ताहका क्रममा मुख्य चोकहरूमा सचेतनामूलक कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, माइकिङमार्फत सूचना प्रवाह, जेब्रा क्रसिङ नभएका स्थानमा सुरक्षित रूपमा सडक पार गर्ने तालिम, चालक तथा सहचालकका लागि विशेष काउन्सेलिङ कार्यक्रम सञ्चालन गरिनेछ ।
साथै विद्यालय, आमा समूह र टोल सुधार समितिमार्फत पनि जनचेतना अभिवृद्धि गरिने उपरीक्षक सुवेदीले बताए । उनले चालकको व्यवहारमा सुधार नआएसम्म तथा सडक र सवारी साधनको अवस्थालाई व्यवस्थित नगरेसम्म दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण रहने उल्लेख गरे । त्यसका लागि रात्रीकालीन सचेतना अभियान, मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, रातो बत्ती उल्लङ्घन तथा लेन अनुशासन नमान्नेलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । काठमाडौँ उपत्यकामा सवारी साधनको संख्या तीव्र रूपमा बढिरहेको तर सो अनुपातमा सडक विस्तार हुन नसक्दा सबै प्रकारका सवारी एउटै लेनमा चल्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । यसले राजधानीका विभिन्न स्थानमा ट्राफिक जामको समस्या बढाएको उल्लेख गर्दै उनले काठमाडौंमा दैनिक १८ लाखभन्दा बढी सवारी साधन चल्ने तथ्यांक रहेको जानकारी दिए ।