काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले कर्मचारीहरूलाई बाहिरी भेटघाटमा कडाइ गरेको छ । बिहीबार सबै कार्यालयहरूमा परिपत्र जारी गर्दै अब कुनै पनि भेटघाट गर्नुपरेमा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता प्रहरी उपरीक्षक शैलेन्द्र थापाले संगठनका कुनै पनि दर्जाका कर्मचारीहरूले उच्चपदस्थ व्यक्तिहरू, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि वा अन्य विशिष्ट व्यक्तिसँग बिना अनुमति भेटघाट गर्न नपाउने व्यवस्था लागू गरिएको छ ।
सशस्त्र प्रहरीले ‘आचरण सम्बन्धी स्थायी आदेश’ स्वीकृत गर्दै कूटनीतिक नियोग, राजनीतिक नेतृत्व वा सञ्चारमाध्यमहरूसँग सम्पर्क गर्दा पालना गर्नुपर्ने नियमहरू स्पष्ट रूपमा तोकेको छ । आदेशमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि भेटघाट गर्ने, गोप्य जानकारी सार्वजनिक गर्ने वा संगठनका लक्ष्य विपरीत काम गरे कडा कारबाही हुनेछ ।’
संगठनले आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन, दंगा नियन्त्रण र सीमा सुरक्षाजस्ता संवेदनशील जिम्मेवारीलाई ध्यानमा राख्दै सबै कर्मचारीलाई अनुशासित, मर्यादित र आदेशपालक रहन निर्देशन दिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयको स्वीकृति विना कुनै भेटघाट गर्न नपाइने उल्लेख गरिएको छ । आवश्यक परेमा स्थायी आदेशमा समावेश गरिएको फाराम भरी स्वीकृति लिएर मात्र भेटघाट गर्न सकिने व्यवस्था गरिएको छ । सशस्त्र प्रहरीले भनेको छ, ‘एक व्यक्तिको गल्तीले संगठनकै प्रतिष्ठा प्रभावित हुन सक्छ, त्यसैले सबैले शून्य सहनशीलताको नीति पालना गर्नुपर्छ ।’
कर्मचारीहरूले सीमा सुरक्षा, विपद् उद्धार, राजस्व चुहावट नियन्त्रण र शान्ति सुरक्षामा उच्च मनोबलका साथ काम गर्न निर्देशनमा आह्वान गरिएको छ । नियम विपरीत भेटघाट वा गैरकानूनी गतिविधिमा संलग्न भएको थाहा पाए तुरुन्त जानकारी दिन पनि अनुरोध गरिएको छ ।