झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ ।
खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए ।