विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन्।
नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट गरेका छन्।
सामाजिक दूरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, केही लक्षण र आशंका भए तत्काल स्वास्थ्य परीक्षण गर्न र होमक्वारेन्टाइनमा बस्न तथा थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेशनमा बस्न प्रदेशवासीमा उनले आग्रह गरेका छन्।
प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुटेकाले नै महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको बताउँदै उनले आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गरेका छन्। रासस