भोजपुर– पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वे्दिक उपचारमा आकर्षण बढेको छ। स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन्।भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाएका छन्। ‘मलाई स्थानीयस्तरको जडीबुटीले रोग निको गरायो।’उनले भने।
जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको छ। सर्वसाधरण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आर्यूवेदिक उपचार गर्छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको यस अवधिमा सेवा लिन आएका ७६७ मध्ये ६५२ बिरामी नियमित औषधि सेवनबाट निको भएका छन्। केही बिरामी उपचारका क्रममा रहेका छन्। अधिकांशमा जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी भएका कार्यालय प्रमुख दिलीप झाले जानकारी दिएका छन्। आयुर्वे्दिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधरणमा यसको चेतना पूर्णरूपमा पुगिनसकेको उनले बताएका छन्।
विसं २०५८ देखि जिल्लामा आयुर्वे्दिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चुर्ण सर्वसाधरणलाई वितरण गर्न शुरु गरिएको थियो। भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन्।रासस