काठमाडौं । विश्वकै ठूलो एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः नेतृत्वमा फर्काउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीहरू सक्रिय भएका छन्। टेस्ला तथा स्पेसएक्सका प्रमुख इलन मस्कसहित प्रविधि क्षेत्रका ठूला उद्यमी र लगानीकर्ताहरू उनको पुनरागमनको पक्षमा उभिएका छन्।
फाइनान्सियल टाइम्सका अनुसार, हुआङले पनि आफू निकट व्यक्तिहरूसँग कम्पनीको नेतृत्वमा फर्किने सम्भावनाबारे छलफल गरिरहेका छन्। उनका समर्थकहरूले कम्पनीको बोर्ड र अमेरिकी सरकारसम्म दबाब बढाउने रणनीति बनाइरहेका छन्।
गत साता सार्वजनिक भएका विवाहेतर सम्बन्ध र चीनसँग जोडिएको जासुसीको आशङ्कापछि हुआङले १२ नोभेम्बरमा सीईओ पदबाट राजीनामा दिएका थिए। तर, उनको बहिर्गमनपछि कम्पनीको नेतृत्व पुनः उनैलाई सुम्पिनुपर्ने आवाज बलियो बन्दै गएको छ।
मस्कदेखि ठूला लगानीकर्तासम्म हुआङको पक्षमा
इलन मस्क र एपिक गेम्सका प्रमुख टिम स्विनीले हुआङलाई पुनः सीईओ बनाउन माग गर्दै सार्वजनिक गरिएको खुला पत्रलाई समर्थन गरेका छन्। एनभिडियाका कर्मचारीहरूले समेत उनको पुनरागमनको पक्षमा हस्ताक्षर गरेका छन्।
एनभिडियामा लगानी गरेका अल्टिमिटर क्यापिटलका ब्राड गस्र्टनर र एट्राइड्स म्यानेजमेन्टका गेभिन बेकरले पनि कम्पनीको बोर्डलाई पत्र लेख्दै नेतृत्व परिवर्तनका सबै सम्भावना खुला राख्न आग्रह गरेका छन्।
उनीहरूको तर्क छ– हुआङले लामो समयदेखि एनभिडियालाई अभूतपूर्व सफलता दिलाएका छन्। त्यसैले विवादका बीच पनि उनको नेतृत्व क्षमतालाई बेवास्ता गर्न मिल्दैन।
फाइनान्सियल टाइम्सका अनुसार, हुआङका समर्थकहरूले उनको पुनरागमनका लागि छुट्टै समूहसमेत बनाउँदै छन्। उक्त समूहले कम्पनीको बोर्डदेखि ह्वाइट हाउससम्म समर्थन जुटाउने प्रयास गर्नेछ।
तीन महिलासँग सम्बन्धको आरोपले निम्त्याएको विवाद
हुआङको व्यक्तिगत जीवनसँग जोडिएको पहिलो विवाद सिङ्गापुरस्थित मेगास्पिड कम्पनीकी अधिकारी एलिस हुआङसँगको सम्बन्धलाई लिएर सार्वजनिक भएको थियो। न्युयोर्क टाइम्सका अनुसार, उनीहरूबीच पटक–पटक भेटघाट भएको थियो। एलिसमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशङ्का पनि गरिएको छ।
त्यसपछि एनभिडियाकै हेल्थकेयर विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको सम्बन्ध रहेको दाबी सार्वजनिक भयो। न्युयोर्क टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै उनीहरूबीच सम्बन्ध रहेको समाचार प्रकाशित गरेको थियो। किम्बर्लीले सिधै हुआङलाई रिपोर्ट गर्ने गरेको बताइएको छ।
रोयटर्सले पनि एनभिडियाकै अर्की एक महिला कर्मचारीसँग हुआङको सम्बन्ध रहेको दाबी गरेको थियो। यद्यपि, ती महिलाको पहिचान सार्वजनिक गरिएको छैन।
यी आरोपहरू सार्वजनिक भएपछि एनभिडियाभित्रै नेतृत्वको आचरण र संस्थागत जवाफदेहिताबारे प्रश्न उठेका थिए।
पत्नी र परिवारसँग माफी माग्दै कर्मचारीलाई पठाएका थिए सन्देश
एलिससँगको सम्बन्धको खबर सार्वजनिक भएपछि हुआङले कम्पनीका कर्मचारीहरूलाई सन्देश पठाउँदै आफ्नो पारिवारिक सम्बन्धमा इमानदार रहन नसकेको स्वीकार गरेका थिए।
उनले आफ्ना कारण पत्नी र सन्तानलाई गहिरो चोट पुगेको भन्दै पछुतो व्यक्त गरेका थिए। साथै, कर्मचारीहरूको विश्वास कायम राख्नु आफ्नो जिम्मेवारी भए पनि त्यसमा असफल भएको उल्लेख गरेका थिए।
त्यसपछि १२ नोभेम्बरमा उनले सीईओ पद छाडे। यद्यपि, वाल स्ट्रिट जर्नलको रिपोर्टले उनले स्वेच्छाले राजीनामा नदिएको, बरु कम्पनीको बोर्डले नै उनलाई पदबाट हटाउने निर्णय गरेको दाबी गरेको थियो।
चीनसँगको सम्बन्ध र एआई चिप निर्यातमाथि पनि प्रश्न
हुआङसँग जोडिएको विवाद व्यक्तिगत सम्बन्धमा मात्र सीमित छैन। एलिस हुआङमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशङ्कापछि अमेरिकी अनुसन्धान निकायहरूले पनि यस विषयमा चासो देखाएका छन्।
अनुसन्धानकर्ताहरूले एलिसले एनभिडियाका उन्नत एआई चिप चीन पुर्याउन भूमिका खेलेकी थिइन् वा कम्पनीका गोप्य सूचना प्राप्त गरेकी थिइन् भन्ने विषयमा अनुसन्धान गरिरहेको बताइएको छ। अमेरिकी न्याय विभागले पनि यससँग सम्बन्धित विषयहरूको जाँच गरिरहेको छ।
अमेरिकी संसद्ले १८ नोभेम्बरमा एलिसलाई बन्द कोठामा हुने बैठकमा उपस्थित भएर जानकारी दिन बोलाएको बताइएको छ। एनभिडियाको बोर्डले पनि यस विषयमा छुट्टै अनुसन्धान गरिरहेको छ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि एनभिडियाको नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम छल्दै फर्जी कम्पनीहरूमार्फत चीनलाई शक्तिशाली एआई चिप बिक्री गरिएको थियो कि थिएन भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
उनका अनुसार, यो विषय हुआङको व्यक्तिगत जीवनसँग जोडिएको विवादभन्दा निकै गम्भीर छ।
अन्तरिम सीईओको जिम्मेवारीमा कोलेट क्रेस
हुआङले पद छाडेपछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत ९सीएफओ० कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हालिरहेकी छन्। उनी व्यवस्थापन टोलीसँग मिलेर कम्पनीको कामकाज सामान्य अवस्थामा राख्ने प्रयासमा छिन्।
यसैबीच, फाइनान्सियल टाइम्सले एनभिडियाको बोर्डले नयाँ नेतृत्वका लागि चिप निर्माता कम्पनी आर्मका प्रमुख रेने हाससँग समेत सम्पर्क गरेको समाचार सार्वजनिक गरेको थियो। तर, बोर्डले भने नयाँ सीईओ चयन गर्ने औपचारिक प्रक्रिया सुरु नभएको जनाएको छ।
हुआङसँग कम्पनीको नेतृत्वमा पुनः फर्किने निर्णय आफैँ गर्न सक्ने पर्याप्त सेयर स्वामित्व छैन। त्यसैले उनको पुनरागमनको अन्तिम निर्णय कम्पनीको बोर्डकै हातमा हुनेछ।
व्यक्तिगत सम्बन्ध, जासुसीको आशङ्का र चीनलाई एआई चिप निर्यात गरेको आरोपले घेरिएका हुआङलाई पुनः नेतृत्वमा ल्याउन टेक क्षेत्रका शक्तिशाली व्यक्तिहरू नै सक्रिय भएपछि एनभिडियाको आगामी नेतृत्वबारे चासो बढेको छ।