काठमाडौँ। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ।
क्षेत्र नं. १ को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ३१ वर्षमुनिका गरिब तथा विपन्न परिवारका सुत्केरी आमालाई लोकल भाले र नवजात शिशुलाई न्यानो कपडा वितरण गर्ने निर्णय गरेको हो। सुत्केरी अवस्थामा आमालाई आवश्यक पोषण उपलब्ध गराउन तथा नवजात शिशुलाई चिसोबाट जोगाउन सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम अघि सारिएको जनाइएको छ। नवनिर्वाचित क्षेत्रीय सभापति केसीले शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त सामाजिक कार्यक्रमको घोषणा गरेका हुन्।
आर्थिक अभावका कारण सुत्केरी आमा र नवजात शिशुले आवश्यक सुविधा तथा सामग्री प्राप्त गर्न कठिनाइ भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सहयोगको योजना बनाइएको उनले बताए। उनका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपन्न तथा आवश्यकतामा रहेका परिवारसम्म सहयोग पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो। नयाँ कार्यसमितिको पहिलो बैठकबाटै सामाजिक सहयोगसम्बन्धी निर्णय गरेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ ले आगामी दिनमा पनि संगठन विस्तार र राजनीतिक गतिविधिसँगै जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सामाजिक कार्यलाई प्राथमिकता दिने जनाएको छ।