काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदाय विशेषसँग मात्र सम्बन्धित नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।
नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको बताए।
उनले पञ्चायती शासनका समयमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि नेपाल संवत् अभियानले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु, नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिनु तथा सरकारी कागजातमा यसको प्रयोग गर्ने निर्णयलाई उनले आन्दोलनका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे।
सभामुख अर्यालले प्राप्त उपलब्धिलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग अझ विस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो।
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान नै राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै उनले नेपाल संवत्लाई सबै नेपालीको साझा सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताए।
नेपाल भाषा, रञ्जना लिपि तथा अन्य मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा राज्य तथा समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए। नयाँ पुस्तालाई यस अभियानसँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल संवत्को प्रयोग बढाउन सके यसको दीर्घकालीन संरक्षण सम्भव हुने उनको भनाइ थियो।
सभामुख अर्यालले नेपाल संवत् केवल समय गणनाको माध्यम मात्र नभई नेपालको इतिहास, सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए।
नेपाल संवत्को सुरुआत राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको उल्लेख गर्दै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको उदाहरण प्रस्तुत गरेको बताए।
उनको योगदान कुनै एक समुदायमा सीमित नभई समग्र मानव समाजका लागि प्रेरणादायी रहेको सभामुख अर्यालले बताए।