काठमाडौँ। राजर्षि जनक विश्वविद्यालयलाई आधुनिक, अनुसन्धानमा केन्द्रित, प्रविधिमैत्री तथा विद्यार्थीको आवश्यकतामा आधारित उच्च शिक्षण संस्थाका रूपमा विकास गर्ने गरी नीतिगत, प्रशासनिक र संरचनागत सुधारलाई अघि बढाइएको विश्वविद्यालयका रजिस्ट्रार काफ्लेले बताएका छन्।
विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य विज्ञान, व्यवस्थापन, कानुन र मानविकीसहित २० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। हाल विश्वविद्यालयमा ५ हजार ९२७ विद्यार्थी अध्ययनरत छन् भने आगामी शैक्षिक वर्षमा थप करिब ६ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ।
परीक्षा प्रणालीमा डिजिटल सुधार
विद्यार्थीको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै परीक्षा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने नीति लिइएको विश्वविद्यालयले जनाएको छ। परीक्षा प्रणालीलाई क्रमशः डिजिटल बनाउने काम अघि बढाइएको छ। सम्पन्न परीक्षाका उत्तरपुस्तिका परीक्षण, प्राप्ताङ्क प्रविष्टि तथा नतिजा प्रकाशनको प्रक्रियालाई समेत तीव्र बनाइएको रजिस्ट्रार काफ्लेले बताए।
आफ्नै पूर्वाधार निर्माणमा जोड
विश्वविद्यालयको दीर्घकालीन विकासका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। धनुषाको नगराइन नगरपालिका–४ मा गुठी संस्थानबाट प्राप्त ९ बिघा १४ कठ्ठा जग्गामा आधुनिक केन्द्रीय प्रशासनिक तथा शैक्षिक परिसर निर्माण गर्ने तयारी थालिएको छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको संरचना विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक प्रयोजनमा प्रयोग गर्ने निर्णय भएको छ। यसले पठनपाठन, प्रशासनिक सेवा र प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता पुग्ने अपेक्षा गरिएको छ। रौतहटको गौरमा ३ बिघा २ कठ्ठा क्षेत्रफलमा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ। महोत्तरीको गौशाला इन्जिनियरिङ क्याम्पसमा प्रयोगशाला व्यवस्थापन तथा स्तरोन्नतिको काम भइरहेको विश्वविद्यालयले जनाएको छ। काठमाडौं उपत्यका र बारा जिल्लामा नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने विषयमा सम्भाव्यता अध्ययनसमेत अघि बढाइएको छ।
कानुन र स्वास्थ्य विज्ञानमा विशेष पूर्वाधार
कानुन संकायका कार्यक्रमलाई छुट्टै सुविधासम्पन्न भवनमा सञ्चालन गर्ने तयारी गरिएको छ। उक्त भवनमा आधुनिक पुस्तकालय, नमुना अदालत तथा कानुनी अनुसन्धान केन्द्र स्थापना गर्ने योजना छ। त्यसैगरी, राजर्षि जनक स्कूल अफ हेल्थ साइन्सेजका कार्यक्रमलाई छुट्टै भवनमा व्यवस्थित गर्नुका साथै आधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने तयारी भइरहेको छ।
डिजिटल विश्वविद्यालयको अवधारणा
विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कामलाई प्रविधिमैत्री र सकेसम्म कागजरहित बनाउने उद्देश्यले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइएको छ। यसअन्तर्गत अनलाइन भर्ना तथा परीक्षा प्रणाली, एकीकृत क्याम्पस व्यवस्थापन प्रणाली, सिकाइ व्यवस्थापन प्रणाली, डिजिटल पुस्तकालय, मानव संसाधन व्यवस्थापन प्रणाली र वित्तीय व्यवस्थापन प्रणाली कार्यान्वयनको तयारी भइरहेको छ।
अनुसन्धानतर्फ पनि विश्वविद्यालयले विशेष ध्यान दिएको जनाएको छ। राजर्षि जनक अनुसन्धान केन्द्रमार्फत प्राध्यापक तथा अनुसन्धानकर्तालाई अनुसन्धान अनुदान, उत्कृष्ट शोधपत्र प्रकाशनका लागि पुरस्कार तथा प्राज्ञिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनमा ल्याइएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि विज्ञान, प्रविधि तथा इन्जिनियरिङ, व्यवस्थापन, मानविकी तथा कानुन र स्वास्थ्य विज्ञान संकायअन्तर्गत एक–एक वटा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने गरी बजेट विनियोजन गरिएको छ।
विद्यार्थीलाई केन्द्रमा राखेर नीति
विश्वविद्यालयले आर्थिक रूपमा विपन्न, पिछडिएका वर्ग, शहीद परिवार तथा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्ति र निःशुल्क शिक्षाको व्यवस्था गरेको छ। विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सीप र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत अघि बढाइएको रजिस्ट्रार काफ्लेले बताए।
विश्वविद्यालयको ११औँ सभाबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा नीति कार्यक्रम स्वीकृत भइसकेको छ। डीन छनोट प्रक्रियालाई थप सहज र पारदर्शी बनाउन संगठन संरचना तथा व्यवस्थापन नियमावलीसमेत संशोधन गरिएको छ। आर्थिक प्रशासनमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको विश्वविद्यालयले जनाएको छ।
मिथिला संस्कृति संरक्षणमा पनि पहल
राजर्षि जनक विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा ‘मिथिला सम्पदा संवाद शृङ्खला’ सञ्चालन गर्ने तयारी गरिएको छ।
मिथिलाको भाषा, दर्शन, कला, संस्कृति तथा प्राचीन सभ्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको उद्घाटन आगामी मंसिर ६ गते गर्ने तयारी छ।
विश्वविद्यालयले आगामी दिनमा स्वीकृत नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राजर्षि जनक विश्वविद्यालयलाई मधेस प्रदेशमा मात्र सीमित नभई राष्ट्रिय स्तरमै उत्कृष्ट, अनुसन्धानमुखी, प्रविधिमैत्री र विद्यार्थीकेन्द्रित विश्वविद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।