काठमाडौं । सरकारले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीनै देशका लागि प्रस्तावित राजदूतहरूलाई नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो। नियुक्तिपछि राष्ट्रपति पौडेलले सोमबार नै शीतल निवासमा आयोजित विशेष समारोहमा तीनै जना राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो। अनुमोदित १० जनामध्ये भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको एग्रिमो (सम्बन्धित देशको सहमति) प्राप्त भएपछि उनीहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको हो।