काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफू जनप्रतिनिधि बन्नुअघि सार्वजनिक गरेका पुराना भिडियोहरूलाई अहिले तोडमोड गरेर आलोचनाको विषय बनाइएको भन्दै आपत्ति जनाएकी छन्।
केही दिनयता सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आफ्ना विगतका गतिविधिसँग सम्बन्धित भिडियोहरू सार्वजनिक भएपछि सांसद तामाङले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनले आफू कुनै राजनीतिक दलको कार्यकर्ता नभई सचेत नागरिकका रूपमा समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदै आएको बताएकी छन्। त्यसबेला गलत कामको विरोध गर्दा सर्वसाधारणदेखि मन्त्रीसम्मले गरेको कामप्रति प्रश्न उठाएको र त्यसमा जनताको समर्थनसमेत पाएको उनको भनाइ छ।
तर अहिले आफू जनप्रतिनिधि बनेपछि त्यही समयका भिडियोहरूलाई फरक सन्दर्भमा प्रस्तुत गर्दै आलोचना गर्न खोजिएको तामाङले आरोप लगाएकी छन्।
उनले केही सञ्चारमाध्यम र राजनीतिक व्यक्तिहरूप्रति समेत व्यङ्ग्य गर्दै आफ्ना भिडियोका साना–साना अंश काटेर प्रचार गर्दैमा आफू विचलित नहुने बताएकी छन्। आलोचनाका बाबजुद आफू आफ्नो अडानबाट पछि नहट्ने उनको दाबी छ।
तामाङले आफू व्यक्तिगत स्वार्थ पूरा गर्न राजनीतिमा नआएको स्पष्ट पार्दै राजनीतिको माध्यमबाट आफ्नो फाइदा खोज्ने उद्देश्य नरहेको बताएकी छन्।
उनले विगतमा लाखौँ पटक हेरिएका आफ्ना सबै भिडियो एकैपटक सार्वजनिक गरेर जनतामाझ ल्याउनसमेत आलोचकहरूलाई चुनौती दिएकी छन्। किस्ता–किस्तामा भिडियो सार्वजनिक गरेर आफूलाई स्पष्टीकरण दिइरहन बाध्य नपार्न उनको आग्रह छ।
पछिल्लो समय सांसद तामाङका विगतका गतिविधि र कार्यशैलीलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै पक्षबाट तीव्र बहस भइरहेको छ।