काठमाडौं । मौसममा खराबी आउन सक्ने सम्भावना देखिएपछि सरकारले किसानलाई आगामी तीन दिन धान नकाट्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो। प्राधिकरणका अनुसार कात्तिक १२, १३ र १४ गते देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ, हिमआँधी तथा ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यसैले किसानलाई धान काट्ने काम केही दिन रोक्न आग्रह गरिएको छ। त्यस्तै, हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रामा नजान पनि सरकारले अनुरोध गरेको छ। यसअघि नै पदयात्रा वा ट्रेकिङमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र मौसमको अवस्था बुझेर मात्रै अघि बढ्न सुझाव दिइएको छ।
बंगालको खाडीमा विकसित भएको ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएपछि मौसमप्रति विशेष सतर्कता अपनाउन भनिएको छ। यसको प्रभावका कारण काठमाडौंको आकाशमा सामान्य बादल लागेको छ।मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा हल्का वर्षा भएको छ। सम्भावित खराब मौसमका कारण कृषि क्षेत्रमा क्षति हुन सक्ने भएकाले किसानले मौसमसम्बन्धी आधिकारिक सूचना हेरेर मात्रै काम अघि बढाउन आवश्यक छ।