काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि बादल लाग्ने सम्भावना छ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
मधेस प्रदेशसहित कोशी र बागमतीका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहने अनुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ। यी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शुक्रबार पनि देशभर अधिकांश बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिन सुझाव दिइएको छ।