काठमाडाैँ । हिमपातका कारण उपल्लो डोल्पाको दुर्गम क्षेत्रमा फसेका ६ जना भारतीय पर्यटकको उद्धार अझै हुन सकेको छैन।
उद्धारका लागि पठाउने तयारी गरिएको नेपाली सेनाको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि उद्धार कार्य प्रभावित भएको हो। सुर्खेतस्थित नेपाली सेनाको हवाई बेसमा रहेको हेलिकप्टरमा समस्या आएपछि तत्काल उद्धार गर्न नसकिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छन्। उनका अनुसार उद्धारका लागि अर्को हेलिकप्टरको व्यवस्था मिलाउने प्रयास भइरहेको छ। भारी हिमपातका कारण दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक शे–फोक्सुण्डो गाउँपालिका–८ को दानिगढ क्षेत्रमा फसेका हुन्। उनीहरूको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल गरिरहेको जनाएको छ।