काठमाडौँ । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो।
बस सडकमा पल्टिँदा त्यसमा सवार २५ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ। दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।