काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साताभित्र जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताएका छन्।
आगामी केन्द्रीय समिति बैठकमा अधिवेशनबारे छलफल हुने र केन्द्रीय निर्वाचन समितिले मिति तय गर्ने उनले जानकारी दिए।
आइतबार छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका सभापति थापाले जिल्ला अधिवेशनपछि तीन–चार दिनभित्रै प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको बताए।
‘पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौं, त्यसपछि तीन–चार दिनमा प्रदेश अधिवेशन गरिन्छ,’ उनले भने।
जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेपछि पार्टी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने उनको भनाइ छ। कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगरी १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो।
यसैबीच, स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ। सभापति थापाका अनुसार मंसिर ४ गते हुने उक्त छलफलपछि निर्वाचनको मितिबारे थप स्पष्टता आउनेछ।
‘निर्वाचन आयोगले मुख्य राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ। त्यो दिनको छलफलपछि स्थानीय तह निर्वाचन कहिले हुने भन्ने तिथिमिति तय होला,’ उनले भने।
सभापति थापाले केन्द्रीय सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाउँदै सरकार प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन्।