सीमकाेट– हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ। साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए। २०७२ सालमा सो एकाइ सञ्चालनमा आएको थियो।
स्थानीय पर्वल बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएको र अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताएका छन्।
एकाइमा एक–एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ। गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ। स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन्। एकाइमा दैनिक १०–१२ सम्म बिरामी उपचारमा जाने गर्दथे।
स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताएका छन्। घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनपरेको बिरामी जोरसिंह बोहराको गुनासो गरेका छन्।
छ महिनादेखि तलब नपाएपछि एकाइ बन्द
एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार सिमकोट गाउँपालिकाले स्वास्थ्यकर्मीलाई नै तलब खुवाउने गरेको थियो।
सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवाविभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिएका छन्। रासस