सिमकोट – जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ।
यही माघ २१ गतेदेखि १० प्रतिशत छुटका साथ जिल्ला सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा मुख, दाँत, गिँजासम्बन्धी उपचार गरिरहेको कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको हाे।
कोहलपुर डेन्टल अस्पतालको प्राविधिक सहयोगमा छात्रछात्रा गरी २ सय विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताए। कैलाश बोधी स्कूलमा निःशुल्क दन्त परीक्षण गर्न पुगेका चिकित्सकले, सम्पूर्ण विद्यार्थीको दाँत जाँच गर्नुका साथै उचित परामर्शसमेत दिएको लामाले बताएका छन्।
दन्त परीक्षण गर्ने क्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पुर्याएको शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताए। उनले क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको जानकारी दिएका छन्। (रासस)