एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा सात वर्षअघि भएको सामूहिक बलात्कार काण्डका दोषी चारैजनालाई फांसी दिइएको छ। आज (शुक्रवार) बिहान साढे ५ बजे तिहाड जेलमा उनिहरुलाई फांसी दिइएको हो।
फांसी दिइनु अघि दोषी पक्षका वकिलले बिहीबार सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा गरेको याचिका खारेज भएका थिए। दोषीलाई फाँसीबाट जोगाउन मध्यरातमा दिल्ली हाईकोर्ट पुगेका दोषी पक्षका वकिलहरूलाई न्यायाधीशहरू मनमोहन र सञ्जीव नरुलाको इजलासले फिर्ता पठाइ दियो।
सन् २०१२ मा सार्वजनिक सवारीमा सवार २३ वर्षीया एक युवती (निर्भया) माथि हमला गरी सामूहिक बलात्कार गरेर मृत्युको मुखमा पु¥याउने चारै जनालाई दिल्ली अदालतले अन्तिम समय ५ मार्चमा फांसीको मिति तोकेको थियो।
सोही तालिका बमोजिम चारैजना दोषी पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा जल्लादले झुण्ड्याएका हुन् । दोषीलाई फांसी दिएसँगै पीडित निर्भयाका अभिभावकले छोरीले न्याय पाएको प्रतिक्रिया दिएका छन्।
घटनामा ६ जनाको संलग्नता रहेको आरोप लागे पनि एक जनाले हिरासतमै आत्महत्या गरेका थिए भने एक जना घटनाको समय नाबालिग नै भनि सुधारगृहमा राखेर रिहा गरिएका थिए।