काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा ठूलो मात्रामा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको आक्रमणमा किभका विभिन्न क्षेत्र प्रभावित भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई सन् २०२२ मा रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेयताकै किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्। युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा मिसाइलमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीले खसालेको छ। त्यसैगरी १२५ वटा ड्रोनमध्ये १०८ वटा पनि अवरोध गरिएको सेनाले जनाएको छ।
युक्रेनी वायुसेनाका अनुसार रुसले इस्कान्डर र हाइपरसोनिक जिर्कोन मिसाइलसहित विभिन्न प्रकारका अत्याधुनिक हतियार प्रयोग गरेको थियो। किभका मेयर भिटाली क्लिच्कोका अनुसार आक्रमणबाट आवासीय तथा गैरआवासीय भवन, एउटा सुपरमार्केट र विद्यार्थी आवास ९डर्मिटोरी० मा क्षति पुगेको छ। दुईवटा गोदाममा लागेको आगो निभाउन दमकलकर्मीहरू खटिएका छन्। राष्ट्रपति जेलेन्स्कीले पछिल्लो एक सातामा मात्र रुसले युक्रेनमाथि करिब १ हजार ४५० वटा आक्रमणकारी ड्रोन, १ हजार ६४० भन्दा बढी निर्देशित बम तथा ९९ वटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
यता, युक्रेनले पनि रुसभित्रका लक्ष्यहरूमा आक्रमणलाई निरन्तरता दिएको छ। दक्षिण–पश्चिमी स्टाभरोपोल क्षेत्रका गभर्नरका अनुसार युक्रेनी ड्रोन आक्रमणपछि एक औद्योगिक क्षेत्रमा आगलागी भएको छ। यसअघि युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका दुई गोदाममा ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा आठ जनाको मृत्यु हुनुका साथै ठूलो आगलागी भएको बताइएको छ। टाम्बोभस्थित गोदाममा सात जनाको मृत्यु र २५ जना घाइते भएका थिए भने मस्कोनजिकैको इलेक्ट्रोस्टालस्थित अर्को गोदाममा एक जनाको मृत्यु र ३७ जना घाइते भएका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनका आक्रमणहरू रुसले नागरिक पूर्वाधार, सहर र बस्तीहरूमा गरिरहेको आक्रमणको जवाफ भएको बताएका छन्। हालका महिनाहरूमा युक्रेनले रुसको ऊर्जा पूर्वाधारमाथि लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले यसअघि रुसको करिब ४३ प्रतिशत तेल प्रशोधन क्षमता निष्क्रिय बनाएको दाबी गरेको भए पनि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। युक्रेनको भनाइमा रुसको युद्ध सञ्चालनका लागि तेल र ग्यास निर्यात मुख्य आर्थिक स्रोत भएकाले ती पूर्वाधारहरू वैध सैन्य लक्ष्य हुन्।