काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूसँग कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी छलफल गरेका छन्।
बैठकमा ओपनएआई, एन्थ्रोपिक, एनभिडिया, मेटा र गुगललगायत प्रमुख प्रविधि कम्पनीका नेतृत्व सहभागी थिए। एआईको तीव्र विकाससँगै यसको सम्भावित जोखिमबारे विश्वभर बहस भइरहेका बेला भएको उक्त बैठकमा प्रविधिको सुरक्षा, डाटा सेन्टर विस्तार तथा ‘सुपर इन्टेलिजेन्स’ शब्दको प्रयोगलगायत विषय प्रमुख बने।
एआई सुरक्षाका लागि स्वनियमन सम्झौता
बैठकपछि ट्रम्पले सहभागी प्रविधि कम्पनीहरूले एआईको सम्भावित जोखिम नियन्त्रणका लागि स्वनियमनमा आधारित एउटा सम्झौतामा हस्ताक्षर गरेको बताए। सम्झौताअनुसार कम्पनीहरूले आफ्ना एआई प्रणाली सुरक्षित रूपमा सञ्चालन हुने सुनिश्चित गर्ने, समस्या देखिए तत्काल पहिचान गरी समाधान गर्ने तथा स्वतन्त्र परीक्षकमार्फत प्रणालीको सुरक्षा परीक्षण गराउने प्रतिबद्धता जनाएका छन्।
सम्झौतामा ट्रम्पसँगै गुगलका सुन्दर पिचाई, एन्थ्रोपिकका डारियो अमोडेई, मेटाका मार्क जुकरबर्ग, ओपनएआईका ग्रेग ब्रोकम्यान, स्पेसएक्सका इलोन मस्क र एनभिडियाका जेन्सन हुआङलगायत सहभागी भएको उल्लेख छ। ट्रम्पले उक्त सम्झौतालाई एआई क्षेत्रका लागि एउटा महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै यसको सुरक्षा निगरानीका लागि छुट्टै बोर्ड गठन गर्ने बताएका छन्। यद्यपि बोर्डमा को–को रहने भन्नेबारे उनले स्पष्ट जानकारी दिएका छैनन्।
डाटा सेन्टर विस्तारमा ट्रम्पको जोड
छलफलका क्रममा ट्रम्पले एआई सञ्चालनका लागि आवश्यक डाटा सेन्टरको तीव्र विस्तारप्रतिको आफ्नो समर्थन पनि दोहोर्याएका छन्। अमेरिकाका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्दा ठूलो मात्रामा विद्युत् खपत हुने तथा स्थानीय समुदायमा त्यसको प्रभाव पर्न सक्ने भन्दै विरोधसमेत भइरहेको छ। आगामी अमेरिकी मध्यावधि निर्वाचनको पृष्ठभूमिमा यो विषय राजनीतिक बहसको विषयसमेत बनेको छ। ट्रम्पले भने प्रविधि कम्पनीहरूले डाटा सेन्टर निर्माण हुने समुदायलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने बताएका छन्। एनभिडियाका प्रमुख जेन्सन हुआङले भने यस्ता डाटा सेन्टरलाई ‘सुपर इन्टेलिजेन्स फ्याक्ट्री’का रूपमा हेर्नुपर्ने धारणा राखेका छन्।
‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’
ट्रम्पले मंगलबार नै अर्को कार्यकारी आदेश जारी गर्दै अमेरिकी सरकारका विभिन्न निकायमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्। कार्यकारी आदेशअनुसार सरकारी पत्राचार, वेबसाइट, प्रतिवेदन, नीतिगत दस्तावेज तथा अन्य सार्वजनिक सामग्रीमा उक्त नयाँ शब्दावली प्रयोग गर्ने तयारी गरिएको छ। ट्रम्पले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने क्रममा ‘आर्टिफिसियल’ शब्दले प्रविधिलाई कृत्रिम वा नक्कली जस्तो सुनाउने धारणा व्यक्त गरेका थिए। तर केही प्रविधि विज्ञहरूले ‘सुपर इन्टेलिजेन्स’ शब्दले सामान्य एआईभन्दा अझ उन्नत प्रणालीलाई जनाउने भएकाले प्रविधि उद्योगमा यो शब्द व्यापक रूपमा स्थापित हुन कठिन हुन सक्ने बताएका छन्।