काठमाडौँ । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट धुवाँ, खरानी र ज्वालामुखीय ग्यासको ठूलो मात्रा निस्किएको तस्बिर सार्वजनिक भएको छ।
नासाका अनुसार सेप्टेम्बर ५, २०२६ मा ल्यान्डस्याट–८ को अपरेसनल ल्याण्ड इमेजर (ओएलआई) ले उक्त दृश्य कैद गरेको हो। जाभा र सुमात्रा द्वीपबीच रहेको यो ज्वालामुखीमा पटक–पटक सामान्य किसिमका विस्फोट हुने गरेका छन्। तर कहिलेकाहीँ यसको गतिविधि निकै शक्तिशाली र जोखिमपूर्ण बन्ने गरेको नासाले जनाएको छ। सेप्टेम्बरको सुरुवातमा अनाक क्राकाटाउमा २४ घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली विस्फोट भएको थियो। त्यस क्रममा ज्वालामुखीय ग्यास र खरानी वायुमण्डलको माथिल्लो तहसम्म पुगेका थिए।
विस्फोटका कारण इन्डोनेसियामा हजारौँ उडान प्रभावित भएका थिए भने राजधानी जकार्तासहित देशका केही क्षेत्रमा वायुको गुणस्तरसमेत बिग्रिएको थियो। नासाले सार्वजनिक गरेको तस्बिरमा ज्वालामुखीबाट निस्किएको सेतो ग्यास र खरानीको बादल समुद्रतर्फ फैलिएको देखिन्छ। अनाक क्राकाटाउको पछिल्लो गतिविधिले इन्डोनेसियामा ज्वालामुखीबाट हुने जोखिम र त्यसको हवाई यातायात तथा वायु गुणस्तरमा पर्ने प्रभावलाई पुनः सतहमा ल्याएको छ।