काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनको अवसरमा ह्वाइट हाउस परिसरमा आयोजना गर्न लागिएको विशाल युएफसी (अल्टिमेट फाइटिङ च्याम्पियनसिप) कार्यक्रमले अमेरिका भरि बहस र विवाद निम्त्याएको छ।
‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको सुरुआती उत्सवका रूपमा प्रस्तुत गरिएको छ। समर्थकहरूले यसलाई राष्ट्रिय गौरव र मनोरञ्जनसँग जोडेर हेरेका छन् भने आलोचकहरूले सरकारी प्रतिष्ठानलाई यस्ता कार्यक्रमका लागि प्रयोग गर्नु उचित नभएको बताएका छन्। आइतबार आयोजना हुने भनिएको प्रतियोगिताका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल केज संरचना निर्माण गरिएको छ। उक्त अखडामा १४ जना युएफसी खेलाडीबीच प्रतिस्पर्धा हुने कार्यक्रम छ।
कार्यक्रमको अनुमानित लागत करिब ६० मिलियन अमेरिकी डलर रहेको बताइएपछि यसको खर्च र प्राथमिकतामाथि प्रश्न उठ्न थालेका छन्। आलोचकहरूले आर्थिक चुनौती र अन्तर्राष्ट्रिय तनावका बीच यति ठूलो खर्चमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नभएको तर्क गरेका छन्। यद्यपि ट्रम्पले भने यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको ऐतिहासिक उत्सवको हिस्सा भएको बताएका छन्। उनले कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले व्यहोर्ने दाबी गर्दै यसलाई अमेरिकी खेलकुद र राष्ट्रिय पहिचानको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्।
कार्यक्रममा करिब चार हजार दर्शक प्रत्यक्ष उपस्थित हुने अनुमान गरिएको छ। तीमध्ये ठूलो संख्या अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिहरूको रहने बताइएको छ। साथै ह्वाइट हाउस बाहिर ठूलो स्क्रिनमार्फत हजारौँ दर्शकले कार्यक्रम अवलोकन गर्ने अपेक्षा गरिएको छ। विशाल आकारको ‘द क्लाउ’ संरचना ह्वाइट हाउस भवनभन्दा अग्लो रहेको बताइएपछि ऐतिहासिक महत्व बोकेको साउथ लनमा यस्तो निर्माण गर्नु पनि विवादको विषय बनेको छ।यसैबीच, कार्यक्रमविरुद्ध कानुनी चुनौतीसमेत दायर गरिएको छ। सार्वजनिक सम्पत्तिको प्रयोग व्यक्तिगत तथा राजनीतिक स्वार्थका लागि गरिएको आरोप लगाइएको भए पनि ह्वाइट हाउसले ती आरोपहरू अस्वीकार गरेको छ। विश्लेषकहरूका अनुसार यो कार्यक्रम ट्रम्पको राजनीतिक शैलीसँग मेल खाने गरी शक्ति प्रदर्शन, मनोरञ्जन र जनआकर्षणलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा हेरिएको छ। त्यसैले कार्यक्रम खेलकुदभन्दा बढी राजनीतिक बहसको केन्द्र बनेको छ।