काठमाडौँ । अण्डाको पोषण र स्वास्थ्यमा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाइरहेको छ। यस वर्ष विश्व अण्डा दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ तय गरिएको छ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यसपटक असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदैछ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको यो दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ। दिवसलाई लक्षित गर्दै देशभरका विभिन्न विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई अण्डाको पोषण, स्वास्थ्यमा यसको उपयोगिता र सन्तुलित आहारमा यसको महत्त्वबारे जानकारी दिने कार्यक्रम सञ्चालन भइरहेको छ। गत सातादेखि भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीले विद्यार्थी र शिक्षकलाई अण्डाको पोषणसम्बन्धी जानकारी दिँदै आएका छन्।
सङ्घको मुख्य आयोजनामा, अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रमसमेत आयोजना गरिँदैछ। असोज २३ गते बिहान ७ बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ। ‘एग वाक’मार्फत अण्डाको पोषण, स्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव र दैनिक खानामा यसको उपयोगिताबारे सर्वसाधारणमा सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल छलफल पनि आयोजना गरिनेछ। छलफलमा अण्डा उत्पादनदेखि पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकालगायत विषयमा विचार–विमर्श गरिनेछ। फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन र लिसिफिनजस्ता आवश्यक पोषक तत्त्व पाइन्छन्। त्यस्तै, भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्क पनि अण्डामा पाइने उनले बताए।
उनका अनुसार अण्डाबाट प्राप्त हुने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि र विकासमा समेत भूमिका खेल्छ। अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा सहयोग गर्ने तथा पहेँलो भागमा पाइने ल्युटिन र जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइएको छ। यसअघि अण्डाको पहेँलो भाग खान नहुने भन्ने धारणा रहे पनि पछिल्लो समय अण्डालाई सन्तुलित तथा विविध आहारको महत्त्वपूर्ण हिस्सा मान्न थालिएको छ।
नेपालमा कुखुरापालक किसान विस्थापित हुने अवस्था देखिएपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा समेत काम गर्दै आएको छ। सङ्घका अनुसार पछिल्लो समय नयाँ किसानहरू कुखुरापालन व्यवसायमा आकर्षित भइरहेका छन् भने यो क्षेत्र क्रमशः व्यवसायीकरणतर्फ अघि बढिरहेको छ। लामो समयसम्म उत्पादन लागतअनुसारको मूल्य नपाउँदा किसान समस्यामा परे पनि सङ्घको पहलपछि पछिल्लो समय किसानले लागतअनुसारको मूल्य पाउन थालेको अध्यक्ष पोखरेलले बताए। अण्डाको उत्पादनसँगै उपभोग बढाउने उद्देश्यले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ।