काठमाडौं । बेलायतका पूर्वराजकुमार एन्ड्र्यु माउन्टबेटन–विन्डसरका घरमा खानतलासी गर्न जारी गरिएको पुर्जी गैरकानुनी भएको बेलायती प्रहरीले स्वीकार गरेको छ।
बिहीबार उच्च अदालतमा भएको सुनुवाइका क्रममा थाम्स भ्याली प्रहरीले एन्ड्र्युका घरमा खानतलासी गर्न अदालतबाट पुर्जी जारी गराउने क्रममा प्रयोग गरिएको कानुनी व्यवस्था गलत भएको स्वीकार गरेको हो। प्रहरीले गत फेब्रुअरी १९ मा एन्ड्र्युका नोर्फोक र बर्कसायरस्थित घरमा खानतलासी गरेको थियो। त्यस क्रममा प्रहरीले विभिन्न कागजात तथा विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएको थियो।
एन्ड्र्युलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई फेब्रुअरीमा पक्राउसमेत गरिएको थियो। तर उनले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्। एन्ड्र्युका कानुनी प्रतिनिधिहरूले प्रहरीले गरेको खानतलासी तथा त्यस क्रममा नियन्त्रणमा लिइएका सामग्रीसम्बन्धी कदमलाई चुनौती दिँदै अदालतमा पुनरावलोकनको माग गरेका छन्।
अदालतमा भएको सुनुवाइका क्रममा प्रहरीले खानतलासीका लागि दुईवटा छुट्टाछुट्टै कानुनी व्यवस्थाअन्तर्गत पुर्जी मागेको थियो। तर अदालतले सुरुमा तीमध्ये एउटा व्यवस्थाअन्तर्गत मात्र पुर्जी जारी गरेको थियो। पछि भएको कानुनी चुनौतीपछि खानतलासीका लागि अर्को कानुनी व्यवस्थाअन्तर्गत पुर्जी जारी गर्नुपर्ने देखिएको थियो। यसपछि प्रहरीले प्रारम्भिक अदालतको निर्णय कानुनी रूपमा सही नभएको स्वीकार गरेको हो। त्यसकारण यसअघि जारी गरिएका खानतलासी पुर्जी खारेज गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ।
तर पुर्जीसम्बन्धी कानुनी त्रुटि स्वीकार गरे पनि एन्ड्र्युविरुद्ध भइरहेको अनुसन्धान भने जारी रहने प्रहरीले स्पष्ट पारेको छ। खानतलासीका क्रममा नियन्त्रणमा लिइएका कागजात तथा विद्युतीय उपकरणलाई कसरी व्यवस्थापन गर्ने र अनुसन्धानका क्रममा प्रहरीले ती सामग्री आफूसँग राख्न पाउने वा नपाउने विषयमा कानुनी प्रक्रिया जारी रहेको छ। एन्ड्र्युविरुद्धको अनुसन्धान अमेरिकी न्याय विभागले सार्वजनिक गरेको केही दस्तावेजपछि अघि बढेको थियो।
ती दस्तावेजमा उनले सन् २०१० मा बेलायतका व्यापारिक दूतका रूपमा कार्यरत रहँदा दोषी ठहर भइसकेका जेफ्री एपस्टिनलाई गोप्य सूचना पठाएको संकेत गरिएको थियो। यद्यपि, एन्ड्र्युले एपस्टिनसँग सम्बन्धित विषयमा आफूले कुनै गलत काम नगरेको निरन्तर दाबी गर्दै आएका छन्। थाम्स भ्याली प्रहरीले सार्वजनिक पदको दुरुपयोगसम्बन्धी अनुसन्धान अझै जारी रहेको र घटनासँग सम्बन्धित सबै सम्भावित पक्षमा निष्पक्ष तथा प्रभावकारी रूपमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।