काठमाडौं । इजरायलको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चुनौती दिन विपक्षी नेता गादी आइजनकोट अघि बढेका छन्। पूर्वसैनिक प्रमुखसमेत रहेका ६६ वर्षीय आइजनकोटले नेतन्याहूलाई सत्ताबाट हटाउने लक्ष्यसहित आफ्नो राजनीतिक अभियान तीव्र बनाएका छन्।
इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन्।
आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन्। उनले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए। नेसनल युनिटी पार्टीबाट संसद् पुगेका उनी पछि वैचारिक मतभेदका कारण अलग भए। गत वर्ष उनले मध्यमार्गी दल ‘यासर’ गठन गरेका थिए। अरबी भाषामा यासरको अर्थ ‘सीधा’ वा ‘इमानदार’ हुन्छ।
यस निर्वाचनमा नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टी र उसका अतिदक्षिणपन्थी तथा अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन्। आइजनकोट नेतृत्वको यासर पार्टीसहित चार विपक्षी यहुदी दलले ४८ सिट प्राप्त गरेका छन्।
नेतन्याहूलाई भ्रष्टाचारको आरोप, हमासको अक्टोबर ७ को आक्रमण रोक्न असफल भएको विषय र न्यायपालिकामा व्यापक परिवर्तन गर्ने विवादास्पद योजनाले लामो समयदेखि दबाबमा राख्दै आएको छ। नेतन्याहूले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका छन्।
छोराको मृत्युले बदलिएको राजनीतिक यात्रा
आइजनकोटको राजनीतिक महत्वाकांक्षासँग एउटा गहिरो व्यक्तिगत पीडा पनि जोडिएको छ।
सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा उनका कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको मृत्यु भएको थियो। उनी हमासले बन्धक बनाएका दुई इजरायलीका अवशेष खोज्ने सैन्य अभियानमा सहभागी थिए।
आइजनकोटका पाँच सन्तानमध्ये कान्छा गालको मृत्युपछि उनको परिवारमा गहिरो शोक छाएको थियो। छोराका सामान राखिएका दुईवटा बाकस अझै उनले खोलेका छैनन्। ती बाकस तेल अभिभनजिकैको हर्जलियास्थित उनको घरमा छन्।
उनले अप्रिलमा इजरायलको सरकारी रेडियोसँग कुरा गर्दै आफूले अहिलेसम्म ती बाकस खोल्न नसकेको बताएका थिए। गाजामा भएको सैन्य अभियानमा उनका दुई भतिजाको पनि मृत्यु भएको थियो।
छोराको मृत्यु र हमासको अप्रत्याशित आक्रमण रोक्न सरकार असफल भएको निष्कर्षले उनलाई राजनीतिक रूपमा थप सक्रिय बनाएको देखिन्छ।
‘म समयलाई पछाडि फर्काउन सक्दिनँ। इतिहासले चुकाएको ठूलो मूल्यको योग्य बन्न म आफूले गर्न सक्ने सबै काम गर्नेछु,’ उनले द टाइम्स अफ इजरायलसँग भनेका थिए।
नेतन्याहूलाई जवाफदेही बनाउने एजेन्डा
नेतन्याहू र उनको मन्त्रिपरिषद्लाई जवाफदेही बनाउनु आइजनकोटको प्रमुख राजनीतिक एजेन्डा हो।
अक्टोबर ७ को हमास आक्रमणपछि राष्ट्रिय एकताको सन्देश दिन उनी विपक्षी नेताहरूसँगै नेतन्याहूको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए। तर, बन्धकहरूको रिहाइका लागि सरकारले पर्याप्त कदम नचालेको आरोप लगाउँदै सन् २०२४ जुनमा उनले मन्त्रिपरिषद्बाट राजीनामा दिए।
आइजनकोटले नेतन्याहूले बन्धकहरूलाई मुक्त गर्न आवश्यक कदम जानाजान नचालेको आरोप लगाएका थिए। नेतन्याहूले भने यो आरोप अस्वीकार गर्दै आएका छन्।
नेतन्याहूका अनुसार युद्ध मन्त्रिपरिषद्मा रहँदा आइजनकोटले गाजामा केही महत्त्वपूर्ण सैन्य कारबाहीको विरोध गरेका थिए। तर, आइजनकोटले प्रधानमन्त्रीको दाबी अस्वीकार गर्दै युद्ध मन्त्रिपरिषद्का बैठक र मतदानको विवरण सार्वजनिक गर्न माग गरेका छन्।
निर्वाचन अभियानका क्रममा उनले आफू निर्वाचित भए १८ महिनाभित्र हमासको शासन अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।
गाजाप्रति नेतन्याहूभन्दा फरक छैनन् आइजनकोट
आइजनकोटलाई नेतन्याहूका विकल्पका रूपमा हेरिए पनि गाजा र प्यालेस्टाइनसम्बन्धी उनका धारणा पूर्णतः फरक छैनन्।
उनी पनि गाजाको भविष्यमा हमासको कुनै भूमिका हुनुहुँदैन भन्ने मान्यता राख्छन्। दुई राष्ट्र समाधानको अवधारणालाई समेत समर्थन गर्दैनन्। उक्त अवधारणाले इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिने प्रस्ताव गर्छ।
आइजनकोट इजरायलका ठूला यहुदी बस्ती विस्तारको पक्षमा छन्। तर, यस्तो विस्तार इजरायली कानुन र राष्ट्रिय हितअनुसार हुनुपर्ने उनको धारणा छ। पश्चिम किनारका केही विवादास्पद क्षेत्रमा बस्ती विस्तार गर्ने योजनाको भने उनले विरोध गरेका छन्।
त्यसैगरी, अक्टोबर ७ को हमास आक्रमणबारे स्वतन्त्र छानबिन गराउने उनको प्रतिबद्धता छ। आक्रमणअघि इजरायली सरकारलाई सम्भावित खतराबारे चेतावनी दिइएको थियो कि थिएन र सरकारले कहाँ कमजोरी गर्यो भन्ने विषय छानबिन गर्ने उनको योजना छ। नेतन्याहूले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।
सामान्य परिवारदेखि सेनाको सर्वोच्च नेतृत्वसम्म
आइजनकोटको जन्म इजरायलको तिबेरियसमा भएको थियो। उनको बाल्यकाल इलातमा बित्यो। उनका आमाबुबा सन् १९५० को दशकमा मोरक्कोबाट इजरायल आएका आप्रवासी थिए।
सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका आइजनकोट १८ वर्षको उमेरमा इजरायली सेनामा भर्ती भएका थिए। सेनामा ४० वर्ष बिताएका उनी सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुख बने।
उनको सैन्य करिअर विवादरहित भने छैन। दोस्रो इन्तिफादाका क्रममा पश्चिम किनारमा सैन्य जिम्मेवारी सम्हालेका उनी पछि ‘दहिया सिद्धान्त’सँग जोडिए। उक्त सिद्धान्तले आक्रमणको जोखिम भएका क्षेत्रमा नागरिक पूर्वाधारविरुद्ध पनि अत्यधिक सैन्य शक्ति प्रयोग गर्नुपर्ने मान्यता राख्छ।
नेतन्याहूको आलोचना गर्दै आएका आइजनकोटले हमासको अक्टोबर ७ को आक्रमणपछि इजरायलले गाजामा सञ्चालन गरेको सैन्य अभियानको भने विरोध गरेका छैनन्।
हमासको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य अभियान सञ्चालन गरेको थियो। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अभियानमा ७४ हजार २०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।
आइजनकोटको उदयले बदलिएला इजरायलको राजनीति ?
आइजनकोटले सार्वजनिक गरेको १० बुँदे कार्यक्रममा दक्ष जनशक्ति पलायन रोक्ने, नयाँ आप्रवासीलाई इजरायल आउन प्रोत्साहित गर्ने र सबै नागरिकका लागि समान सेवा कानुन लागू गर्ने विषय समेटिएका छन्।
उनले अतिरूढिवादी यहुदी समुदाय र अरब इजरायली नागरिकले सैनिक सेवाबाट पाउँदै आएको छुट अन्त्य गर्नुपर्ने धारणा राखेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार आइजनकोटको सबैभन्दा ठूलो चुनौती नेतन्याहूलाई सत्ताबाट हटाउन सक्ने बलियो गठबन्धन निर्माण गर्नु हो।
पत्रकार तथा शिक्षाविद् नदाव इयालका अनुसार छोराको मृत्युले आइजनकोटलाई राजनीतिक जीवनमा नयाँ उद्देश्य र अभियान दिएको छ। त्यस्तै, ‘द इकोनोमिस्ट’का इजरायल संवाददाता अंशेल फेफरले उनलाई गम्भीर र जिम्मेवार छवि भएका नेताका रूपमा चित्रण गरेका छन्।
यद्यपि, नेतन्याहूको तुलनामा आइजनकोटले इजरायलको विदेश नीति र प्यालेस्टाइनप्रतिको दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउन सक्छन् भन्ने प्रश्न अझै बाँकी छ।
च्याथम हाउसका प्राध्यापक योसी मेकेलबर्गका अनुसार आइजनकोट प्रधानमन्त्री बने पनि अन्तर्राष्ट्रिय समुदायसँग इजरायलको सम्बन्ध रातारात सुधार हुने अपेक्षा गर्न सकिँदैन। उनका अनुसार विपक्षी दलहरूले अहिलेसम्म नेतन्याहूभन्दा स्पष्ट र फरक विकल्प प्रस्तुत गर्न सकेका छैनन्।
त्यसैले आइजनकोटका लागि चुनौती केवल नेतन्याहूलाई सत्ताबाट हटाउनु मात्र होइन, इजरायलको आन्तरिक राजनीति, सुरक्षा नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा वास्तविक परिवर्तनको आधार तयार गर्नु पनि हुनेछ।