काठमाडौं । उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ।
दक्षिण कोरियाली सेनाका अनुसार प्योङयाङले समुद्रको दिशातर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।अमेरिकासँग सम्भावित वार्ताको चर्चा भइरहेका बेला उत्तर कोरियाले सैन्य गतिविधि जारी राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः संवाद गर्न चाहेको अभिव्यक्ति दिएपछि प्योङयाङको पछिल्लो गतिविधिलाई कूटनीतिक वार्तामा आफ्नो प्रभाव बढाउने प्रयासका रूपमा समेत हेरिएको छ।
यसैबीच, विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार मञ्च बाइनान्समा ६ अर्ब अमेरिकी डलरभन्दा बढीको चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले आरोप लगाएको छ। एफबीआईले उक्त घटनालाई यसअघि बाइबिटबाट १ अर्ब ५० करोड डलर चोरी गरेको आरोप लागेको ‘ट्रेडरट्रेटर’ समूहसँग जोडेको छ। तर उत्तर कोरियाले यी आरोप अस्वीकार गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी आरोपप्रति आपत्ति जनाउँदै त्यसलाई वासिङ्टनको शत्रुतापूर्ण नीतिको निरन्तरता भनेकी छन्। उनका अनुसार अमेरिकासँगको संवादले उत्तर कोरियाको राष्ट्रिय हित सुनिश्चित नगर्ने भएकाले वार्ताको आवश्यकता छैन।
पछिल्लो समय उत्तर कोरियाले ब्यालेस्टिक तथा हाइपरसोनिक क्षेप्यास्त्र, आक्रमणकारी ड्रोन र क्लस्टर बमसम्बन्धी परीक्षणलाई तीव्रता दिएको छ। मंगलबार परीक्षण गरिएको नयाँ क्लस्टर वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्रसम्म क्षति पुर्याउन सक्ने प्योङयाङको दाबी छ।
दुई कोरियाबीचको सीमा तनावसमेत पछिल्लो समय बढेको छ। गत सेप्टेम्बरमा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए। त्यसपछि सियोलले उत्तर कोरियामाथि सैन्य सीमाङ्कन रेखाको दक्षिणतर्फ बारुदी सुरुङ बिछ्याएको आरोप लगाउँदै त्यसबारे माफी माग्नुपर्ने बताएको छ।
उत्तर कोरियाले भने उक्त आरोप अस्वीकार गर्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएको छ। साथै, सीमाक्षेत्रमा प्रचारात्मक लाउडस्पीकर प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्नेसमेत चेतावनी दिएको छ।