काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको आधिकारिक कार्यकक्ष ‘ओभल अफिस’ को स्वरूप भविष्यका राष्ट्रपतिले परिवर्तन गर्न नसक्ने व्यवस्था गर्ने भन्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको सजावट र बनावटमा व्यापक परिवर्तन गरेका छन् । विशेषगरी कार्यालयभित्र सुनौलो रङका सामग्री तथा सजावट थपेर उनले यसको स्वरूप नै फेरबदल गरेका छन् । बिहीबार कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ओभल अफिसलाई राष्ट्रिय स्मारकका रूपमा घोषणा गरिएको बताए । अब कुनै पनि व्यक्तिले उक्त ऐतिहासिक संरचना भत्काउन, हटाउन वा आफ्नो इच्छाअनुसार परिवर्तन गर्न नपाउने उनको दाबी छ ।
ट्रम्पले भने, ‘हामी यसलाई राष्ट्रिय स्मारक बनाउँदैछौँ । अब कसैले पनि यो स्थानलाई नष्ट गर्न, भत्काउन वा आफ्नो इच्छाअनुसार फरक स्वरूप दिन पाउने छैन ।’ नयाँ आदेशमा ओभल अफिससँगै त्यस आसपासका केही कोठालाई पनि राष्ट्रिय महत्त्वको ऐतिहासिक संरचनाका रूपमा संरक्षण गर्ने उल्लेख छ । यसको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय निकुञ्ज सेवाले पाउनेछ ।यद्यपि, आदेशले राष्ट्रपतिलाई कार्यालयको सजावट परिवर्तन गर्ने, फर्निचर छनोट गर्ने तथा सामान्य सुरक्षा र सञ्चालनसम्बन्धी सुधार गर्ने अधिकार भने दिएको छ । तर, ऐतिहासिक संरचना र वास्तुकलाको मौलिक स्वरूपमा गम्भीर असर पर्ने गरी परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ । यसअघि ट्रम्पले ह्वाइट हाउसको पूर्वी भाग (इस्ट विङ) पूर्ण रूपमा भत्काएर त्यहाँ नयाँ भव्य बलरुम निर्माण गर्ने योजना अघि बढाएका थिए । उक्त परियोजनाले कानुनी चुनौतीसमेत सामना गरिरहेको छ । अमेरिकी कंग्रेसबाट परियोजनाले स्वीकृति पाएपछि निर्माण कार्य भने जारी रहेको छ ।
हाल ह्वाइट हाउसलाई नै राष्ट्रिय ऐतिहासिक सम्पदाका रूपमा मान्यता दिइएको छ । तर, अमेरिकी राष्ट्रपतिलाई आवश्यकताअनुसार भवनमा केही परिवर्तन गर्ने अधिकारसमेत छ । ओभल अफिसको वर्तमान संरचना सन् १९३० को दशकमा राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टको पालामा निर्माण गरिएको थियो । ऐतिहासिक सम्पदा संरक्षणसम्बन्धी कानुनका विज्ञ ग्रेग वर्कहाइजरले भने ट्रम्पको नयाँ आदेशको कानुनी प्रभावकारितामाथि प्रश्न उठाएका छन् । उनका अनुसार राष्ट्रपतिले आफ्नो कार्यकालमा फर्निचर र सजावट परिवर्तन गर्न पाउने भए पनि स्थायी कला तथा वास्तुकलामा क्षति पुर्याउन भने मिल्दैन । उनले ट्रम्पले वासिङ्टनका अन्य ऐतिहासिक संरचनामा परिवर्तन गर्न खोजिरहेको अवस्थामा ओभल अफिस संरक्षणको घोषणा गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरेका छन् ।
ट्रम्पले यसअघि सुरक्षा संवेदनशीलताका कारण ओभल अफिस नै भत्काएर नयाँ संरचना बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका थिए । तर, त्यसलाई अस्वीकार गर्दै उनले यो स्थान विशेष महत्त्वको रहेको उल्लेख गरेका थिए । यसैबीच, पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पले ओभल अफिसमा गरेको सुनौलो सजावटको आलोचना गरेका छन् । उनले ह्वाइट हाउसको स्वरूप इराकका पूर्वशासक सद्दाम हुसेनले ‘चिजकेक फ्याक्ट्री’ खोलेको जस्तो देखिएको भन्दै व्यङ्ग्य गरेका थिए । ट्रम्पको नयाँ आदेशले भविष्यका राष्ट्रपतिले ओभल अफिसको ऐतिहासिक संरचनामा कति परिवर्तन गर्न पाउने भन्ने विषयमा भने थप कानुनी बहस सिर्जना गरेको छ ।