काठमाडाैँ । रुस र युक्रेनका आपत्कालीन सूचना प्रणालीमा साइबर आक्रमण भएको छ। आक्रमणपछि दुवै देशका मोबाइल एपमार्फत नागरिकलाई झुटा तथा त्रास फैलाउने खालका आपत्कालीन सन्देश पठाइएको छ।
बीबीसीका अनुसार युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपमा आइतबार राति देशभर रेड अलर्ट जारी भएको थियो। राजधानी किभका केही बासिन्दाले विकिरणको खतरा, रासायनिक आक्रमण र सडकमा भिडन्त हुन सक्ने भन्दै चेतावनी सन्देशसमेत प्राप्त गरेका थिए। केही सन्देशमा युक्रेनमा परमाणु आक्रमण हुन सक्ने उल्लेख गरिएको थियो। तर युक्रेनी वायुसेनाले उक्त सूचना झुटो भएको स्पष्ट पार्दै राजधानी किभमा विकिरणको कुनै खतरा नरहेको जनाएको छ। साथै नागरिकलाई शान्त रहन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।
युक्रेनले आफ्नो आपत्कालीन सूचना एपमा भएको साइबर आक्रमणमा रुसको संलग्नता रहेको आरोप लगाएको छ। यता रुसको आपत्कालीन सूचना प्रणालीमा पनि ठूलो साइबर आक्रमण भएको त्यहाँको आपत्कालीन मन्त्रालयले जनाएको छ। रुसी पक्षले भने आफ्नो समग्र आपत्कालीन चेतावनी प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गरेको छ। रुसको एपमा पनि परमाणु हतियारसहितका ड्रोन विभिन्न क्षेत्रमा प्रहार गरिएको भन्दै झुटो सन्देश पठाइएको दाबी गरिएको छ। यद्यपि दुवै देशका प्रणालीमा भएका आक्रमण आपसमा सम्बन्धित हुन् वा होइनन् भन्ने अझै स्पष्ट भएको छैन। यस घटनालाई पछिल्लो समय रुस र युक्रेनबीच जारी युद्धको अर्को साइबर चुनौतीका रूपमा हेरिएको छ।