काठमाडौं । युरोपका विभिन्न मुलुकमा विमानमा बम राखिएको भन्दै आएका झुटा धम्कीका कारण बिहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएका छन्।
धम्कीपछि केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई सुरक्षाका लागि वैकल्पिक विमानस्थलमा अवतरण गराइएको छ। पछिल्लो घटनामा विमानको सुरक्षाका लागि केही देशले लडाकु विमानसमेत परिचालन गरेका थिए। यद्यपि धम्कीपछि विभिन्न विमानमा गरिएको सुरक्षा जाँचका क्रममा अहिलेसम्म कुनै पनि विस्फोटक पदार्थ वा शंकास्पद वस्तु फेला परेको छैन। बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले घटनालाई ‘दुर्भावनापूर्ण झुटो धम्की’को संज्ञा दिएकी छन्।
उनका अनुसार यस्ता गतिविधिले हवाई यातायातको नियमित सञ्चालनमा अनावश्यक दबाब सिर्जना गरिरहेको छ। इटालीको रोमस्थित विमानस्थलतर्फ आउँदै गरेका विमानलाई लक्षित गर्दै इमेलमार्फत बमको धम्की दिइएको थियो। त्यस्तै, चेक गणतन्त्रको प्रागमा पनि धम्कीपछि अवतरण गरेका चारवटा विमानमा सुरक्षा जाँच गरिएको थियो। तर, ती विमानमा समेत कुनै विस्फोटक वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
सुरक्षाका लागि लडाकु विमान परिचालन
धम्कीपछि विभिन्न देशका वायुसेनाले यात्रुवाहक विमानको सुरक्षाका लागि लडाकु विमान परिचालन गरेका थिए। इटालीको वायुसेनाले हेलसिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई आफ्नो हवाई क्षेत्रमा सुरक्षा दिएको थियो। त्यस्तै, बुल्गेरियातर्फ उडिरहेका र्यानएयरका तीनवटा विमानलाई समेत सैन्य विमानले सुरक्षा प्रदान गरेका थिए। तीमध्ये केही विमान कोपनहेगन र म्याड्रिडबाट सोफियातर्फ गएका थिए भने लन्डनबाट आएको अर्को विमानलाई बुल्गेरियाकै प्लोभ्दिभमा सुरक्षित अवतरण गराइएको थियो। डब्लिनबाट रोमका लागि उडेको एर लिङ्गसको विमानलाई भने फ्रान्सको इभ्रुस्थित सैन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। विमान सुरक्षित अवतरण गरेपछि सुरक्षाकर्मी तथा विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीले जाँच गरेको थियो।
एकै दिन यति धेरै उडान प्रभावित हुनु असामान्य
युरोपमा विमानमा बम राखिएको भन्दै झुटा धम्की आउने घटना नयाँ भने होइन। तर, एकै दिन ठूलो संख्यामा उडान प्रभावित हुनु असामान्य भएको अधिकारीहरूले बताएका छन्। विशेषज्ञहरूका अनुसार यस्ता धम्कीले विमानस्थलको सुरक्षा प्रणाली, अनुसन्धान प्रक्रिया र विभिन्न देशबीचको समन्वयमा थप दबाब सिर्जना गर्छ। साथै, विमानको मार्ग परिवर्तन, आपत्कालीन अवतरण, अतिरिक्त सुरक्षा जाँच र चालक दलको कार्यसमय बढ्दा विमान कम्पनीको खर्चसमेत बढ्ने गर्छ।
घटनाको अनुसन्धान जारी
युरोपेली संघका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले पछिल्ला घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्नेबारे अहिले नै निष्कर्षमा पुग्न नहुने बताएका छन्। घटनाबारे युरोपका विभिन्न देशमा अनुसन्धान भइरहेको छ। हवाई सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने युरोपेली संघको संयन्त्रसमेत सक्रिय बनाइएको छ। यसअघि मंगलबार पनि युरोपका कम्तीमा २५ वटा उडान बमको धम्कीका कारण प्रभावित भएका थिए। ती घटनामा पनि कुनै विस्फोटक पदार्थ फेला परेको थिएन। पछिल्ला धम्की एउटै समूहबाट आएका हुन् वा विभिन्न समूह संलग्न छन् भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।