कास्की। पोखरामा कुनै समय तिहारको सयपत्री फूलका लागि बाहिरी बजारको भर पर्नुपर्ने अवस्था थियो। चाडपर्व नजिकिएसँगै भारतलगायतका बजारबाट फूल आयात हुन्थे। तर अहिले अवस्था फेरिएको छ। तिहारमा आवश्यक पर्ने सयपत्री फूल स्थानीय किसानले नै उत्पादन गर्न थालेपछि पोखरा बाह्य बजारमाथिको निर्भरता घटाउँदै आत्मनिर्भरतातर्फ अघि बढेको छ।
यो परिवर्तन एकाएक आएको होइन। यसका पछाडि पोखरा महानगरपालिकाको नीतिगत पहल, किसानलाई दिइएको प्रोत्साहन र स्थानीय स्तरमा विस्तार हुँदै गएको व्यावसायिक फूलखेतीको योगदान छ।
धनराज आचार्य नगर प्रमुखमा निर्वाचित भएपछि महानगरपालिकाले स्थानीय फूलखेतीलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। फूलखेती गर्ने किसानलाई सयपत्रीको बीउमा ५० प्रतिशत अनुदान र मल्चिङ प्लास्टिकमा समेत ५० प्रतिशत सहुलियत उपलब्ध गराइएको छ। त्यति मात्र होइन, किसानले उत्पादन गरेको फूलको न्यूनतम मूल्य निर्धारण र बजारीकरणमा समेत महानगरपालिकाले सहजीकरण गर्दै आएको छ।
यसले किसानलाई उत्पादनका लागि आवश्यक सामग्री जुटाउन सहज बनाउनुका साथै उत्पादित फूल बिक्री नहुने र उचित मूल्य नपाइने पुरानो समस्यालाई समेत कम गर्न सहयोग पुगेको छ।
विगतमा फूल उत्पादन गरे पनि बजार कहाँ पाउने र कति मूल्यमा बिक्री गर्ने भन्ने चिन्ता किसानमा रहने गरेको थियो। उत्पादनको मूल्य निर्धारणमा बिचौलियाको प्रभाव हुँदा किसानले अपेक्षित लाभ लिन नसक्ने अवस्था पनि थियो। महानगरपालिकाले किसान र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न थालेपछि किसानमा व्यावसायिक फूलखेतीप्रतिको आकर्षण बढेको छ।
यस विषयमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले किसानको हकहित र उत्पादनको संरक्षणलाई महानगरले प्राथमिकतामा राखेको बताए। किसानलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहयोग उपलब्ध गराउन महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ।
महानगरको पहलबाट किसानले पाएको लाभ खेतबारीमै पुग्दा पनि देखिन्छ। पोखराका व्यावसायिक कृषक नरेन्द्रप्रसाद अधिकारी महानगरपालिकाले फूलखेतीलाई दिएको प्रोत्साहनप्रति सकारात्मक छन्। किसानलाई उत्पादनका लागि सहयोग गर्ने र उनीहरूको उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउने प्रयासले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको उनको धारणा छ।
किसानहरूका अनुसार विगतमा खेती गरे पनि बजार र मूल्यको अनिश्चितताले व्यावसायिक रूपमा अघि बढ्न कठिन थियो। अहिले महानगरपालिकाको सहजीकरणले त्यो समस्या कम हुँदै गएको छ। स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानको आत्मविश्वास पनि बढेको छ।
सयपत्री फूलमा पोखराले हासिल गरेको उपलब्धि फूल आयात घट्नुमा मात्र सीमित छैन। यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, किसानलाई आवश्यक सहयोग पुर्याउने र उत्पादनको बजार सुनिश्चित गर्ने हो भने स्थानीय स्तरमै आत्मनिर्भरता हासिल गर्न सकिन्छ भन्ने देखाएको छ।
कृषिमा आत्मनिर्भरता हासिल गर्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित गर्नु जति आवश्यक छ, उनीहरूको उत्पादनले उचित मूल्य र बजार पाउने व्यवस्था गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पोखराको फूलखेतीमा देखिएको परिवर्तनले यही आवश्यकता औँल्याएको छ।
तिहारमा घरआँगन, मठमन्दिर र सार्वजनिक स्थलमा सजिने सयपत्री फूल अब पोखराका लागि बाहिरबाट ल्याउनुपर्ने वस्तु मात्र रहेन। स्थानीय किसानकै खेतबारीमा फुलेका फूलले बजारको माग धान्न थालेका छन्। किसानको मेहनत र महानगरपालिकाको सहजीकरणले सम्भव भएको यो परिवर्तन स्थानीय उत्पादन र बजारलाई जोडेर आत्मनिर्भरता हासिल गर्न सकिने एउटा उदाहरण बनेको छ।