काठमाडौं । स्पेनमा छोटो अवधिमै दुईवटा गम्भीर रेल दुर्घटना भएपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पद त्याग्ने निर्णय गरेका छन्।
पछिल्लो दुर्घटनामा ६९ जनाको ज्यान गएको र २०० भन्दा बढी घाइते भएको घटनापछि उनले राजीनामा घोषणा गरेका हुन्।म्याड्रिडमा सांसदहरूसँगको सम्बोधनका क्रममा पुएन्तेले पछिल्लो दुर्घटनालगत्तै आफूले पद छोड्ने निर्णय गरेको जानकारी दिए। एक वर्षभन्दा कम समयमा दुईवटा ठूला दुर्घटना भएपछि यातायात मन्त्रालयको नेतृत्वमा निरन्तर रहनु नैतिक रूपमा उचित नहुने उनको भनाइ थियो।
पछिल्लो दुर्घटना भएको छ दिनपछि उनले राजीनामाको घोषणा गरेका हुन्। अधिकारीहरूका अनुसार म्याड्रिडलाई दक्षिणी क्षेत्र अन्डालुसियासँग जोड्ने उच्च गतिको रेलमार्गमा मानवीय त्रुटि र कम्प्युटर प्रणालीको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
सुरक्षा प्रणालीमा समस्या देखिएपछि रेल सेवा रोकिएको अवस्थामा तीव्र गतिमा आएको एउटा रेलले अर्को रोकिएको रेललाई ठक्कर दिएको थियो। घटनाबारे प्रतिक्रिया दिँदै पुएन्तेले रोक्नका लागि संकेत दिइएको अवस्थामा पनि रेल अघि बढ्नुको कारण अनुसन्धानबाट स्पष्ट हुनुपर्ने बताएका थिए।
यसअघि गत जनवरीमा अन्डालुसियाको अदामुज क्षेत्रमा दुईवटा उच्च गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो। लगातार भएका दुर्घटनाले स्पेनको रेल सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
पछिल्लो घटनापछि विभिन्न राजनीतिक दल तथा यातायात मजदुर सङ्गठनले मन्त्री पुएन्तेको राजीनामा माग्दै आएका थिए। दुर्घटनापछि यातायात मन्त्रालयको मुख्यालयबाहिर प्रदर्शनसमेत भएको थियो। प्रदर्शनकारीहरूले प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामाको माग पनि उठाएका थिए।
आगामी आमनिर्वाचन आउन तीन साता मात्र बाँकी रहेका बेला पुएन्तेको राजीनामा घोषणा भएको हो। उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पनि स्पष्ट पारेका छन्।
प्रधानमन्त्री सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको निर्णयप्रति सम्मान व्यक्त गरेका छन्। पीडितप्रतिको संवेदना र आफ्नो राजनीतिक प्रतिबद्धताका कारण उनले पद त्याग्ने निर्णय गरेको सान्चेजको भनाइ छ।