काठमाडौं । बढ्दो महँगी, आर्थिक असमानता र सरकारको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा बिहीबार पाँच लाख ७५ हजारभन्दा बढी मानिस सडकमा उत्रिएका छन्।
फ्रान्सेली सरकारका अनुसार गत सेप्टेम्बरदेखि जारी आन्दोलनयता एकै दिनमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो। राष्ट्रव्यापी हडतालसँगै सुरु भएको प्रदर्शनमा विद्यार्थी, शिक्षक, मजदुर, स्वास्थ्यकर्मी, यातायात क्षेत्रका कर्मचारी तथा पहेँलो भेस्ट आन्दोलनका समर्थकहरूको उल्लेख्य सहभागिता थियो। उनीहरूले दैनिक जीवनयापन खर्च बढ्दै गएको, धनी र गरिबबीचको आर्थिक दूरी फराकिलो बनेको तथा सरकारले जनताका समस्यालाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। साथै, राजनीतिक र सामाजिक सुधारको मागसमेत अघि सारेका छन्।
प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। फ्रान्सको गृह मन्त्रालयका अनुसार रेनेस, नान्टेस, लियोन र मार्सेमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले देशभरबाट ४४८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। लियोनमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रयोग गर्नुका साथै बल प्रयोग गरेको थियो। रेनेसमा एउटा होटलमा तोडफोड हुनुका साथै प्रहरीतर्फ वस्तु प्रहार गरिएको थियो। त्यस्तै, टुलुज नजिकैको एक विद्यालयमा आगजनी हुँदा ठूलो क्षति पुगेको छ। गृह मन्त्रालयका अनुसार देशका विभिन्न ८६ स्थानमा आगलागीका घटना भएका थिए।
हडतालको प्रभाव शिक्षा र यातायात क्षेत्रमा पनि देखिएको थियो। करिब एकतिहाइ उच्च शैक्षिक संस्था प्रभावित बने भने विद्यालयका झन्डै १३ प्रतिशत कर्मचारी हडतालमा सहभागी भए। रेल सेवा सञ्चालनमा समेत अवरोध आएको थियो। यद्यपि, अस्पतालका करिब पाँच प्रतिशत कर्मचारी मात्रै हडतालमा सहभागी भएकाले स्वास्थ्य सेवा भने सामान्य रूपमा सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आन्दोलनरत श्रमिक सङ्गठनहरूले न्यूनतम पारिश्रमिक र पेन्सन वृद्धि गर्न सरकारसँग माग गरेका छन्। सीजीटीले न्यूनतम पारिश्रमिक तत्काल १० प्रतिशत बढाउनुपर्ने माग राखेको छ भने सीएफडीटीले मासिक न्यूनतम पारिश्रमिकमा १०० युरो थप गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
त्यस्तै, विद्यार्थी सङ्गठनहरूले शिक्षा बजेटमा १० अर्ब डलरभन्दा बढी थप गर्न, विद्यालयका पूर्वाधार सुधारका लागि १.५ अर्ब डलर लगानी गर्न तथा विश्वविद्यालयमा दुई लाख ५० हजार नयाँ भर्ना स्थान सिर्जना गर्न माग गरेका छन्। यसैबीच, पहेँलो भेस्ट आन्दोलनका समर्थकहरूले राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको बहिर्गमनसँगै नयाँ संवैधानिक प्रक्रियाको माग गरेका छन्। उनीहरूले क्रिसमससम्म र आवश्यक परे आगामी वसन्तमा हुने राष्ट्रपतीय निर्वाचनसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। आन्दोलनकारी समूहले शुक्रबार र शनिबार पनि प्रदर्शन गर्ने तयारी गरेको छ। यसले फ्रान्समा सरकारमाथि बढ्दो जनदबाब र राजनीतिक असन्तुष्टि थप चर्किने संकेत देखिएको छ।