काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी नोभेम्बरमा भेट हुन सक्ने सम्भावना व्यक्त गरेका छन्।
चीनको सेनझेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग एपेक सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता हुन सक्ने उनको भनाइ छ।सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले किमसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गरेका थिए। सम्भावित भेटलाई रोचक बताउँदै उनले भेटवार्ता हुन सक्ने संकेत दिए पनि त्यसबारे औपचारिक तयारी भइरहेको छ वा छैन भन्ने स्पष्ट पारेका छैनन्।ट्रम्प नोभेम्बर १८ र १९ मा हुने एपेक नेताहरूको बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम रहेको बताइएको छ। यही भ्रमणका क्रममा उत्तर कोरियाली नेतासँग भेट हुन सक्ने विषयले अन्तर्राष्ट्रिय चासो बढाएको छ।
ट्रम्प र किमबीच यसअघि पनि विभिन्न अवसरमा प्रत्यक्ष भेटवार्ता भइसकेको छ। ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा सिंगापुरमा, सन् २०१९ मा भियतनामको हनोईमा र सोही वर्ष कोरियाली प्रायद्वीपको सीमाक्षेत्रमा उनीहरूबीच भेट भएको थियो।यसैबीच, उत्तर कोरियासँगको तनाव कम गर्ने विषयमा अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यास पनि चर्चामा रहँदै आएको छ। ट्रम्पले यस्ता अभ्यास खर्चिलो हुने र उत्तर कोरियाले त्यसलाई आफ्नो सुरक्षाविरुद्धको गतिविधिका रूपमा लिने गरेको तर्क गर्दै आएका छन्।
यसअघि अगस्टमा सञ्चालन गरिएको ‘उल्ची फ्रिडम सिल्ड’ संयुक्त सैन्य अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिन बनाइएको थियो। ट्रम्पले किमसँगको आफ्नो सम्बन्धलाई पनि सैन्य अभ्यासको अवधि घटाउने विषयसँग जोड्दै आएका छन्।यद्यपि, आगामी एपेक सम्मेलनका क्रममा दुई नेताबीच भेट हुने औपचारिक पुष्टि भने भइसकेको छैन।