काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रियामा सहभागी भएका नेता तथा जनप्रतिनिधिमाथि कारबाही गर्ने सभापति गगन थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
सप्तरी जिल्ला अधिवेशन उद्घाटनका लागि पुगेका महतले पार्टी छाडेर अन्य दलमा प्रवेश गरेका नेता–कार्यकर्तामाथि कारबाही गर्ने थापाको भनाइप्रति प्रतिक्रिया दिँदै यस्तो धारणा राखेका हुन्।कांग्रेसको इतिहास, विचार र राजनीतिक विरासत बोकेका नेताहरूलाई बेवास्ता गरेर कसैले आफूखुसी आधिकारिक पार्टीको दाबी गर्न नसक्ने महतको तर्क छ। कांग्रेस निर्माणमा योगदान दिएका नेताहरू नै पार्टीबाट अलग हुनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दै उनले प्रश्नसमेत उठाए।
उनले कांग्रेस र लोकतन्त्रलाई कमजोर पार्ने उद्देश्यले कसैको योजनाअनुसार परिचालित हुने समूहलाई पार्टीको वास्तविक उत्तराधिकारी मान्न नसकिने बताए।
महतले कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत आफ्नो पक्षसँग रहेको दाबी गरे। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा, बीपीपुत्र डा। शशांक कोइराला, गणेशमानपुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिसहितका नेताहरू आफ्नो समूहमा रहेको उनले उल्लेख गरे।
विधि र विधानअनुसार मान्यता नपाएको प्रक्रियाबाट बनेको नेतृत्वलाई आधिकारिक कांग्रेस स्वीकार गर्न नसकिने महतको भनाइ छ। उनले पार्टीका नेता तथा कार्यकर्तालाई नेतृत्वसम्बन्धी विवादका कारण अन्योलमा नपर्न आग्रह गरे।त्यस्तै, पार्टीको नीति, विचार र सिद्धान्तमा अडिग रहेका कार्यकर्ताले सेवा–सुविधा कटौती वा कारबाहीको डर मान्न नहुने उनले बताए। अग्रज नेताहरूले लोकतन्त्र र विधिको रक्षाका लागि गरेको संघर्ष स्मरण गर्दै राजनीतिक निष्ठाबाट पछि नहट्न पनि महतले आग्रह गरे।