काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
उनले भक्तपुरको बोडे र खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई अन्यत्र बस्ने व्यवस्था सुनिश्चित नगरी हटाउन खोज्नु उचित नभएको बताएका छन् । महिनौँदेखि व्यवस्थापन र जग्गाको स्वामित्वसम्बन्धी टुंगो पर्खिरहेका परिवारलाई चिसो मौसममा फेरि विस्थापित गर्न खोजिएको उनको भनाइ छ ।आङ्देम्बेले भूमिहीन दलित तथा सुकुमवासीको आवास सुनिश्चित गरेपछि मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । नागरिकलाई वैकल्पिक आवास नदिई सडकमा पुर्याउनु राज्यको दायित्वविपरीत हुने उनको धारणा छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाका लागि सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको हो ।नेता आङ्देम्बेले संविधानको धारा ३७ मा उल्लेखित आवासको हक स्मरण गराउँदै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । उनले होल्डिङ सेन्टर खाली गराउने निर्देशन फिर्ता लिन तथा प्रभावित परिवारको सुरक्षित र दीर्घकालीन पुनर्वासको व्यवस्था मिलाउन माग गरेका छन् ।
भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान तथा तथ्यांक संकलन गरेर मात्रै व्यवस्थापन अघि बढाउनुपर्ने कांग्रेसको सुझाव सरकारले बेवास्ता गरेको पनि उनले आरोप लगाएका छन् ।