काठमाडौं ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले दुर्गम तथा विपन्न क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफसँग आग्रह गरेकी छन् ।
युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेरासँग भएको भेटमा मन्त्री बादीले बालबालिकाको समग्र विकासका लागि सहकार्य र साझेदारी आवश्यक रहेको बताएकी हुन् ।उनले विशेषगरी अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि रहेका क्षेत्रका बालबालिकालाई लक्षित गरी प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।
बालबालिकाको संरक्षण र विकास जन्मपछि मात्र नभई गर्भावस्थादेखि नै सुरु हुनुपर्ने उल्लेख गर्दै मन्त्री बादीले विकास साझेदारका कार्यक्रम पनि गर्भावस्थादेखि नै बालबालिकाको स्वास्थ्य, विकास र सुरक्षामा केन्द्रित हुनुपर्ने धारणा राखिन् ।विशेष संरक्षण तथा वैकल्पिक स्याहार आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन योजना अघि बढाउने तयारी गरेको जानकारी दिँदै उनले त्यसमा युनिसेफको सहयोग अपेक्षा गरिएको बताइन् ।
भेटमा युनिसेफका क्षेत्रीय निर्देशक विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार र उनीहरूमाथि हुने हिंसा नियन्त्रणका लागि सहकार्य गर्न संस्था तयार रहेको बताए ।उनले समुदायस्तरमा कार्यरत सामाजिक जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।