काठमाडौं ।बजार अनुगमनका क्रममा कारबाहीमा परेर जरिवाना तिर्न बाँकी रहेका व्यवसायी तथा व्यावसायिक संस्थालाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिनाभित्र रकम बुझाउन निर्देशन दिएको छ ।
विभागले बिहीबार मङ्सिर ११ गते सार्वजनिक गरेको सूचनामार्फत जरिवाना रकम सरकारी राजस्व खातामा जम्मा गरी त्यसको प्रमाणसमेत पेस गर्न भनेको हो ।विभागका अनुसार उपभोक्ताको अधिकार संरक्षण र बजारलाई व्यवस्थित बनाउन गरिएको नियमित तथा आकस्मिक अनुगमनका क्रममा कानुनविपरीत कारोबार गर्ने विभिन्न फर्म, कम्पनी तथा प्रतिष्ठानलाई कारबाही गरिएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार निरीक्षण अधिकृतले जरिवाना तोके पनि केही व्यवसायीले हालसम्म रकम दाखिला नगरेको विभागको भनाइ छ ।
विभागले उपभोक्ता संरक्षण ऐनसहित विभिन्न प्रचलित कानुनअनुसार जरिवाना तिर्न बाँकी रहेका सबै व्यावसायिक संस्थालाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र रकम बुझाउन आग्रह गरेको छ ।तोकिएको समयभित्र जरिवाना दाखिला गरी प्रमाण पेस गर्न विभागले सम्बन्धित व्यवसायीलाई सचेत गराएको छ ।