काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग राजनीतिक प्रतिस्पर्धा गर्न कठिन देखेपछि विभिन्न पक्षबाट पार्टीमाथि आक्रमण भइरहेको बताएका छन्।
पार्टीको सबल पक्ष र उपलब्धिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसकिएको उनको भनाइ छ।मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै पौडेलले कांग्रेसलाई नेपालको राजनीतिको विश्वविद्यालयका रूपमा व्याख्या गरे। अन्य राजनीतिक दलले समेत कांग्रेसबाट धेरै कुरा सिक्ने गरेको दाबी गर्दै उनले पार्टीको विधान मुलुककै समावेशी विधानमध्ये उत्कृष्ट रहेको बताए। तर, यसको प्रचार नागरिकस्तरसम्म प्रभावकारी रूपमा हुन नसकेको उनले स्वीकार गरे।
पार्टीको ऐतिहासिक योगदान, समावेशी चरित्र र सबल पक्षलाई जनतामाझ स्थापित गर्न सके कांग्रेसलाई कमजोर बनाउन कसैले नसक्ने पौडेलको भनाइ थियो। त्यसका लागि समाजका वास्तविक समस्यालाई पार्टीको एजेन्डासँग जोडेर अघि बढ्नुपर्ने उनले बताए।बैठकमा महामन्त्री पौडेलले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। सरकारले संसद्लाई बेवास्ता गरेको, महँगीको मारमा परेका नागरिकका समस्यालाई सम्बोधन नगरेको र राष्ट्रियताका विषयमा समेत गलत गतिविधि भइरहेको उनको आरोप थियो। सुनकोसी मरिन डाइभर्सन र पासपोर्ट प्रकरणलगायतका विषयमा अनियमितता भएको दाबी गर्दै उनले सरकारका गतिविधिविरुद्ध कांग्रेसले सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए।
कांग्रेसलाई जनतासँग थप नजिक बनाउन पार्टीको कार्यशैली र गतिविधिमा परिवर्तन आवश्यक रहेको पौडेलले औँल्याए। वडा तहका बैठकमा स्थानीय नागरिकका प्रमुख समस्या अनिवार्य रूपमा छलफलको विषय बनाउनुपर्ने उनको सुझाव थियो। प्रत्येक वडामा कम्तीमा तीनवटा स्थानीय मुद्दालाई बैठकको एजेन्डा बनाउन सके नागरिकले पार्टीले आफ्ना समस्या उठाएको महसुस गर्ने उनले बताए।
किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकसम्म र समाजका सबै वर्ग तथा समुदायले कांग्रेसलाई आफ्नो अभिभावकका रूपमा अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।त्यस्तै, जिल्ला, पालिका र वडा तहमा पुग्दा पार्टीका प्रतिनिधिहरू औपचारिक बैठक तथा कार्यकर्ता भेटघाटमा मात्र सीमित हुन नहुने उनको भनाइ थियो। परम्परागत भाषण र कार्यक्रमको शैली परिवर्तन गरी स्थानीय समस्या पहिचान गर्ने र ती मुद्दालाई पार्टीको राजनीतिक एजेन्डासँग जोड्ने अभ्यास गर्नुपर्ने पौडेलले बताए।
उनका अनुसार पार्टीले केवल संगठन विस्तारमा ध्यान दिएर पुग्दैन, समाजका वास्तविक समस्या बोकेर जनतासँग जोडिन सके मात्रै कांग्रेसप्रति नागरिकको विश्वास अझ बलियो बनाउन सकिन्छ।