काठमाडौं ।कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको कुनै संलग्नता नरहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले दाबी गरेका छन्।
उक्त आक्रमणमा दुई इटालियन नागरिकको मृत्यु भएपछि उनले घटनाबारे यस्तो प्रतिक्रिया दिएका हुन्।सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै अराघचीले घटनालाई शङ्कास्पद बताएका छन्। उनले यो आक्रमण क्षेत्रीय युद्धलाई थप चर्काउने उद्देश्यले अघि सारिएको योजनाको हिस्सा हुन सक्ने आशङ्कासमेत व्यक्त गरेका छन्।इरानी विदेशमन्त्रीले घटनाको वास्तविकता पत्ता लगाउन कुवेत र इटालीसँग सहकार्य गर्न आफ्नो देश तयार रहेको बताएका छन्। कुवेत र इटालीका विदेशमन्त्रीसँगको छुट्टाछुट्टै टेलिफोन संवादमा पनि उनले आक्रमणमा इरानको संलग्नता रहेको आरोप अस्वीकार गरेका छन्।
रोयटर्सका अनुसार आक्रमणमा ज्यान गुमाउने दुवै इटालियन नागरिक जर्मन रक्षा कम्पनी राइनमेटलको इटालियन शाखामा प्राविधिकका रूपमा कार्यरत थिए। उनीहरू कुवेतको एक हवाई रक्षा निगरानी केन्द्रमा खटिएका बेला ड्रोन आक्रमणमा परेका थिए।घटनामा एक कुवेती र एक पाकिस्तानी नागरिक पनि घाइते भएका छन्। कुवेतको रक्षा मन्त्रालयले घटनाको पुष्टि गर्दै आक्रमणबाट मानवीय तथा भौतिक क्षति पुगेको जनाएको छ।
कुवेतले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण भन्दै घटनाको निन्दा गरेको छ। त्यस्तै, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पनि मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेकी छन्।अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेको अवस्थामा कुवेतको पछिल्लो घटना सार्वजनिक भएको हो।